काठमाडौँ, १५ कात्तिक (ई-सञ्चारपाटी) । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले वर्तमान सरकारका राम्रा र नराम्रा सबै गतिविधिहरूको राजनीतिक जिम्मेवारी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने स्पष्ट पारेका छन्। आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा बोल्दै सभापति थापाले सरकारमा बस्ने दललाई राम्रो कामको मात्र जस लिने र नराम्रो कामको अपजसबाट पन्छिने कुनै सुविधा नभएको टिप्पणी गरे।
थापाले विगतमा नेपाली कांग्रेस नेतृत्वमा सरकार रहँदा भएका कमी-कमजोरीप्रति रास्वपाले उठाउने गरेका प्रश्नहरूको स्मरण गराए। "त्यसबेला रास्वपाको धारणा के हुन्थ्यो भने, यो सरकार त कांग्रेसको हो; त्यसैले विरोध मात्रै गरेर पुग्दैन, जिम्मेवारी पनि तिमीहरूले नै लिनुपर्छ," थापाले भने, "यो राजनीतिक जिम्मेवारीको सिद्धान्त कांग्रेस र एमालेका हकमा लागू हुने, अनि रास्वपाका हकमा चाहिँ लागू नहुने भन्ने हुँदैन।" सरकारले गरेको कुनै विवादित काममा प्रश्न उठ्दा त्यसलाई प्रधानमन्त्रीको थाप्लोमा हाल्ने र राम्रो कामको श्रेय मात्रै आफूले लिने दोहोरो चरित्र नलिन उनले रास्वपालाई चेतावनी दिए।
पछिल्लो समय सरकारको कार्यशैली र प्रवृत्तिले हद नाघेको टिप्पणी गर्दै थापाले केवल औपचारिक वक्तव्य जारी गरेर मात्र रास्वपाको दायित्व पूरा नहुने बताए। "रास्वपाको संसदीय दलको बैठक बसोस् र सम्माननीय प्रधानमन्त्रीजीलाई त्यहीँ बोलाइयोस्," थापाले सुझाव दिँदै भने, "बैठकबाट सरकारलाई स्पष्ट निर्देशन दिने काम होस् र प्रधानमन्त्रीजीले त्यही निर्देशन बोकेर सरकार चलाउनुहोस्।"
सभापति थापाले सञ्चारगृह (न्युजरुम) भित्रै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने र धरपकड गर्ने शैलीप्रति कडा आपत्ति जनाए। उच्च तहको राजनीतिक आदेशबिना सञ्चारमाध्यममाथि यस्तो हस्तक्षेप सम्भव नहुने दाबी गर्दै उनले पत्रकारिता क्षेत्रलाई त्रसित बनाउने गतिविधिले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर पार्ने चेतावनी दिए।
सरकारलाई डर, त्रास र प्रतिशोधको राजनीति छोडेर नागरिकमा भरोसा जगाउने आधारमा शासन सञ्चालन गर्न आग्रह गर्दै थापाले कांग्रेस प्रतिपक्षमा रहेर पनि सुशासन र विधिको शासनका लागि रचनात्मक सहयोग गर्न सदैव तयार रहेको स्पष्ट पारे।
प्रतिक्रिया