काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई बलियो बन्ने मौका दिएको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) तेस्रो राष्ट्रिय सम्मेलनको उदघाटन समारोहमा बोल्दै उनले यथास्थितिवादको राजनीति संविधान र गणतन्त्रका लागि खतरा बनेको बताएका हुन्।
उनले भने, ‘संविधानको रक्षाको पक्षमा उभिनेहरूसँग कार्यगत एकता वा तालमेल हुनसक्छ। तर, प्रतिगमनको नाममा भ्रष्टाचारलाई संरक्षण गर्ने र इमानदारमाथि कारबाही गर्ने कार्यहरूलाई समर्थन गर्न सकिन्न। तर अहिले प्रतिगमनले जसरी टाउको उठाएको छ त्यो गणतन्त्र समर्थन गरिदिएको भरमा भ्रष्टाचारीलाई बचाउने, कुशासन कायम गर्ने, इमानदारहरुलाई कारवाही गर्ने सरकारबाट भएको छ। यसका कारणले पनि प्रतिगमनले टाउको उठाउने मौका पाएका छन्। हामी यथास्थितीवादलाई वैचारिक राजनीतिक रुपले कहिकतै छुट दिन सकिने ठाउँमा छैनौं। अहिलेको सरकार र त्यसको नेतृत्ववालाहरुले यथास्थितीवादी धाराहरुको प्रतिनिधित्वो गरिरहनु भएको छ। उहाँहरु परिवर्तन र प्रगतिको पक्षमा नभइ जनताले पाएको अधिकारलाई पनि खोस्ने लाइनमा हुनुहुन्छ।’
प्रचण्डले संविधानको रक्षालाई माओवादी केन्द्रको प्रमुख प्राथमिकता भएको बताए। उनले वर्तमान सरकार यथास्थितिवादी धाराको प्रतिनिधि बनेको र जनताको अधिकार खोस्ने दिशामा अघि बढिरहेको आरोप लगाए।
साथै उनले हालको सरकारप्रति आफ्नो पार्टीले निरन्तर खबरदारी गर्दै आएको र भ्रष्टाचारविरुद्धको अभियान पनि चलाइरहेको बताए।
उनले भने, ‘एकातिर सरकारलाई निरन्तर खबरदारी गरिराखेका छौं भने अर्को भ्रष्टाचार विरोधी अभियान थालेका छौं। हामीले केही राम्रा रेर्कडहरु बनाएकै छौं।’
राजावादी शक्तिहरूले गणतन्त्र माओवादीकै उपलब्धि मात्र भएको भन्दै भ्रम फैलाउन खोजेकोप्रति प्रचण्डले आपत्ति जनाए। साथै उनले उनले आगामी दिनहरूमा प्रतिगमनविरुद्ध अझ बलियो प्रतिरोध गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया