×

मलेसिया कामदार ठगी प्रकरण : पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी, अर्याल सम्पर्कविहीन

images

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौँ जिल्ला अदालतबाट अर्यालविरुद्ध पक्राउ अनुमति लिएको हो ।

मलेसिया सरकारसँग भएको द्विपक्षीय श्रम सम्झौताविपरीत हुने गरी विभिन्न संस्था खडा गरेर श्रमिकहरूसँग अवैध रूपमा रकम संकलन गरी ठगी गरेको प्रकरणमा अर्यालको समेत संलग्नता देखिएपछि सीआईबीले पक्राउ पुर्जी जारी गरेको हो । यद्यपि, पक्राउ पुर्जी जारी भएसँगै पूर्वमुख्यसचिव अर्याल सम्पर्कविहीन रहेको प्रहरी स्रोतले जनाएको छ । सीआईबीको टोलीले उनको खोजी तीव्र पारेको छ ।

दुई पूर्वमन्त्रीसहित ६ जना हिरासतमा, अनुसन्धान जारी

यसै प्रकरणमा संलग्न रहेको आरोपमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जना उच्च अधिकारीहरूलाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरू अछामको चौरपाटी गाउँपालिका–४ का ६० वर्षीय शेरबहादुर कुँवर र सर्लाहीको चक्रघट्टा गाउँपालिका, बेल्हीका ६१ वर्षीय रामेश्वर राय यादव रहेका छन् ।

त्यसैगरी, सोही मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

संगठित अपराध र ठगी कसुरमा अनुसन्धान

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त प्रकरणमा छानबिन गरी कारबाही गर्न जाहेरी दिएपछि सीआईबीले विस्तृत अनुसन्धान अघि बढाएको थियो । पक्राउ परेका पूर्वमन्त्रीद्वयसहित ६ जनाविरुद्ध अदालतबाट म्याद थप अनुमति लिएर ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सीआईबीले जनाएको छ ।

उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलोमतोमा नीतिगत निर्णय गराई श्रमिकबाट असुलिएको करोडौँ रकम गैरकानुनी रूपमा विदेश पठाइएको आरोपमा थप व्यक्तिहरूको संलग्नताबारे समेत प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

बिहीबार ४ मंसिर २०८३ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया