×

मलेसिया कामदार ठगी प्रकरण : पूर्वमन्त्रीद्वय कुँवर र यादवसहित ६ जनाविरुद्ध ४ दिनको म्याद थप

images

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकहरूसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध अदालतले चार दिनको म्याद थप गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता अनुपम शमशेर जबराका अनुसार तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित उच्च सरकारी अधिकारीहरूमाथि अनुसन्धान गर्न अदालतले हिरासतमा राख्ने अनुमति दिएको हो ।

म्याद थप भएका अन्य व्यक्तिहरूमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा मन्त्रालयकी तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।

तीन जिल्लाबाट पक्राउ, संगठित अपराधमा अनुसन्धान

प्रहरीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र पीडित विकास रानाभाटसहितको जाहेरीका आधारमा सीआईबीले यस प्रकरणमा अनुसन्धान अघि बढाएको थियो । काठमाडौँ जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर ब्यूरोको टोलीले काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

मलेसिया रोजगारीका नाममा विभिन्न संस्था खडा गरी श्रमिकहरूबाट अवैध रूपमा शुल्क असुल्ने र उक्त रकम नीतिगत निर्णयको आडमा गैरकानुनी तवरले विदेश पठाउन सघाएको गम्भीर आरोप उनीहरूमाथि लागेको छ ।

पक्राउ परेका पूर्वमन्त्रीद्वय र तत्कालीन कर्मचारीहरूमाथि मुलुकी अपराध संहिताअन्तर्गतको ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिम विस्तृत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

बिहीबार ४ मंसिर २०८३ ०७:२४ PM मा प्रकाशित

प्रतिक्रिया