काठमाडौं- अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपालहरुले स्थापना गरेका एउटा बैंक बित्तिए संस्थाको ब्रान्ड एम्बेस्डरमा अनुबन्धित भएकी छिन् । नेपालीहरुले खोलेको अमेरिकाकै पहिलो नेपाली वित्तिय संस्था एभरेष्ट फेडेरल क्रेडिट युनियन (नेपाली बैंक)को ब्राण्ड एम्बेस्डरमा यी अभिनेत्री अनुबन्धित भएकी हुन् ।
बैंकको तेश्रो वार्षिक साधारण सभाबाट अभिनेत्री सरितालाई अनुबन्धित गरिएको सो बैंकको सञ्चालक समितिले जनाएको छ । संस्थापक अध्यक्ष मोहन ज्ञवाली रहेको एभरेष्ट फेडेरल क्रेडिट युनियनको प्रधान कार्यालय तीन वर्ष अघि अमेरिकाको न्युयोर्कमा स्थापना गरिएको थियो ।
बैंकका बर्तमान अध्यक्ष डा. मदन उप्रेतीले नेपाली चलचित्र तथा टेली चलचित्रमा लामो समयदेखि योगदान दिएको र यतिबेला अमेरिकामा रहेकाकारण पनि अभिनेत्री सरिता लामिछानेलाई यो नेपाली बैंकको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको बताएका छन् । न्युयोर्क पछि टेक्सासमा शाखा खोलेर सेवा दिँदै आएको यो बैंकको नयाँ साखा यसै महिना ओहायो र भर्जिनियाँमा खुल्दैछ । यो नयाँ साखाको उद्घाटन सम्पन्न गरेर आफु अमेरिकाबाट नेपाल फर्कने अभिनेत्री लामिछानेले बताएकी छिन् ।
‘अमेरिकामा रहनु भएका नेपालीहरुले यहाँ नेपाली बैंक स्थापना गर्नु आफैंमा खुसीको कुरा हो । सो बैंकको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउँदा म झनै खुसी भएको छु ।’ सरिताले भनिन्,‘यो बैंकको प्रचार प्रसारमुलक विज्ञापनसहित प्रवर्धनको विभिन्न परियोजनामा म संलग्न रहने छु । मैले ब्रान्ड एम्बेस्डरको रुपमा निर्वाह गर्नुपर्ने भूमिकालाई जिम्मेवारीपूर्वक निभाउने छु ।’
यो बैंकका सिईओ बिराज रिजालले ब्रान्ड एम्बेस्डरमा अभिनेत्री सरिता लामिछाने नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरेको छन् । लामिछानेको सहयोगले यो बैंकको प्रवर्धनसँगै बित्तिय कारोवार बृद्धिमा अझ धेरै सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् । यो बैंकको अन्य राज्यहरुमा पनि शाखा खोल्ने तयारी भईरहेको पनि सिईओ रिजालले बताएका छन् ।
प्रतिक्रिया