×

एमालेद्वारा २०४७ यताका सरकारी उपलब्धिको १८ पृष्ठे श्वेतपत्र सार्वजनिक, ‘समग्र ३५ वर्षको अपजस नलिने’ स्पष्टोक्ति

images

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले २०४७ सालयता विभिन्न समयमा सरकारको नेतृत्व गर्दा तथा सरकारमा सहभागी हुँदा देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कार्य तथा उपलब्धिहरूको विस्तृत फेहरिस्त सार्वजनिक गरेको छ । जारी राष्ट्रिय भेलामा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले १८ पृष्ठ लामो दस्तावेज प्रस्तुत गर्दै संवैधानिक विकास, आर्थिक–सामाजिक रूपान्तरण, पूर्वाधार, सामाजिक सुरक्षा, सुशासन र परराष्ट्र सम्बन्धका क्षेत्रमा भएका प्रमुख प्रगतिहरू सार्वजनिक गरेका हुन् ।

दस्तावेजमा २०४७ वैशाख ६ गतेको अन्तरिम सरकारदेखि २०८२ फागुन २४ सम्म पार्टी अल्पमतको सरकारमा करिब ९ महिना, बहुमतको सरकारमा करिब ३ वर्ष, अन्य दल सहभागी सरकारको नेतृत्वमा करिब ३ वर्ष ६ महिना र अरू दलको नेतृत्वमा करिब ५ वर्ष सरकारमा सहभागी रहेको उल्लेख छ । राजनीतिक अस्थिरताका बाबजुद पार्टीले आफूले नेतृत्व गरेको र सहभागी भएको अवधिको मात्र जिम्मेवारी लिने तर समग्र ३५ वर्षको जिम्मेवारी नलिने एमालेले स्पष्ट पारेको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा र ‘परिपूर्ण लोकतन्त्र’ को मान्यताअनुरूप समाजवादउन्मुख आर्थिक–सामाजिक विकासको नीति अवलम्बन गरिएको एमालेको दाबी छ । प्रतिवेदनमा भनिएको छ, “हाम्रो पार्टी सरकारको नेतृत्वमा रहँदा वा सरकारमा सहभागी हुँदा आर्थिक–सामाजिक रूपान्तरणका लागि पहलकदमी लिएका छौँ । विशेषगरी पार्टी सरकारको नेतृत्वमा रहेको अवधिमा भौतिक पूर्वाधार, आर्थिक वृद्धि र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएका छन् ।”

आर्थिक तथा सामाजिक सूचकमा फड्को

एमालेले २०४७/४८ को अवस्थासँग तुलना गर्दै हालका आर्थिक तथा सामाजिक सूचकहरूमा उल्लेख्य सुधार भएको तथ्याङ्क पेस गरेको छ:

  • गरिबी र प्रतिव्यक्ति आय: २०५२ मा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० मा २०.३ प्रतिशतमा झरेको छ । यस्तै, मानव विकास सूचकाङ्क ०.४३७ बाट ०.६०२ पुगेको छ भने प्रतिव्यक्ति आय २०० डलरबाट बढेर २०८२ मा १ हजार ५३५ डलर पुगेको छ ।
  • जीडीपी र बजेट: २०४७ मा रु. १ खर्ब २० अर्ब रहेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) हाल रु. ६६ खर्ब पुगेको छ । वार्षिक बजेट रु. ३१ अर्ब ५५ करोडबाट रु. २१ खर्ब २४ अर्ब र विदेशी मुद्रा सञ्चिति ४३ करोड ७० लाख डलरबाट २६ अर्ब ४८ करोड डलर पुगेको जनाइएको छ ।
  • सामाजिक सुरक्षा र रोजगारी: २०५२ सालमा मासिक १०० रुपैयाँबाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता हाल ४ हजार रुपैयाँ पुगेको र यसबाट ३६ लाख नागरिक लाभान्वित भएको उल्लेख छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २१ लाख श्रमिक आबद्ध भई रु. १ खर्ब २४ अर्ब जम्मा भएको तथा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारीको प्रबन्ध गरिएको दस्तावेजमा छ ।
  • शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरण: साक्षरता दर ३९.६ प्रतिशतबाट ७६.२ प्रतिशत, औसत आयु ५५ वर्षबाट ७२ वर्ष पुगेको तथा बाल र मातृ मृत्युदरमा भारी गिरावट आएको उल्लेख छ । स्वास्थ्य बिमामा ८० लाख नागरिक आबद्ध भएको र एकैपटक ३९६ आधारभूत अस्पतालको शिलान्यास गरिएको जनाइएको छ । यस्तै, तीन तहका जनप्रतिनिधि संस्थामा करिब ४१ प्रतिशत महिला प्रतिनिधित्व, निजामती सेवामा २९ प्रतिशत सहभागिता र ४५ लाख महिलाको घरजग्गामा स्वामित्व कायम भएको तथ्याङ्क प्रस्तुत गरिएको छ ।

भौतिक पूर्वाधार, ऊर्जा र डिजिटल क्रान्ति

भौतिक पूर्वाधारतर्फ देशभरको सडक सञ्जाल ८ हजार ३२८ किलोमिटरबाट १ लाख १० हजार किलोमिटर पुगेको एमालेले जनाएको छ । थानकोट, सिद्धबाबा तथा काठमाडौँ–निजगढ द्रुतमार्गका सुरुङमार्गमार्फत नेपाल सुरुङ युगमा प्रवेश गरेको, तुइन विस्थापन गरी १ हजार ४२३ झोलुङ्गे र ९१५ पक्की सडक पुल निर्माण भएको, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तथा जयनगर–जनकपुर रेल सेवा सुरु भएको उपलब्धिका रूपमा समेटिएको छ ।

ऊर्जा क्षेत्रमा विद्युत जडित क्षमता २२७ मेगावाटबाट ४ हजार १२० मेगावाट र विद्युत पहुँच १० प्रतिशतबाट ९९ प्रतिशत पुगेको दाबी गरिएको छ । लोडसेडिङ अन्त्य भई भारततर्फ ३ हजार ७७७ गिगावाट घण्टा विद्युत निर्यात भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, धान उत्पादन ३० वर्षमा ३३ लाखबाट ५९ लाख मेट्रिक टन पुगेको, वन क्षेत्र ३९ बाट ४६ प्रतिशत पुगेको, ८५ प्रतिशत जनसङ्ख्यामा इन्टरनेट पहुँच विस्तार भएको र ‘नागरिक एप्स’ सहित डिजिटल सेवा प्रवाह सुरु भएको जनाइएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, चोभार सुक्खा बन्दरगाह, दैलेख ग्यासखानी परीक्षण र निर्यात व्यापार रु. १ खर्ब नाघेको तथ्य पनि दस्तावेजमा समावेश छ ।

पुनर्निर्माण, शान्ति प्रक्रिया र सन्तुलित परराष्ट्र नीति

२०७२ को विनाशकारी भूकम्पपछि करिब ८ लाख निजी आवास, ७ हजार ५२ विद्यालय र ६४० पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न भएको दस्तावेजमा उल्लेख छ । २०५२ को ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रमदेखि संविधानसँग बाझिएका २०० भन्दा बढी कानुन संशोधन गरी सङ्घीयता संस्थागत गरिएको तथा सिके राउत र नेत्रविक्रम चन्द नेतृत्वका समूहलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याइएको एमालेले जनाएको छ ।

परराष्ट्र सम्बन्धमा ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ को नीतिअन्तर्गत भारतीय नाकाबन्दीको सम्मानजनक समाधान, चीनसँग पारवहन तथा समुद्री बन्दरगाह र भारतसँग जलमार्ग सम्झौता भएको उपाध्यक्ष पौडेलले उल्लेख गरेका छन् । साथै, सीमा सुरक्षाका लागि २०८ स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट–पोस्ट (बीओपी) स्थापना र सङ्घीय संसद्को सर्वसम्मत संविधान संशोधनमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा प्रकाशनलाई एमालेले ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।

बुधबार ३ मंसिर २०८३ ०६:४३ PM मा प्रकाशित

प्रतिक्रिया