×

संसदमा जुनसुकै दलबाट जोसुकै प्रवेश गरे पनि क्रान्तिको मर्म प्रवेश गरेजस्तो महसुस हुन्छ-प्रचण्ड

images

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा “पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्” भनी स्थापित गर्न खोजिएको भाष्यलाई अस्वीकार गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सबै पुराना नेतृत्वलाई एउटै डालोमा राखेर हेर्नु सत्य नभएको जिकिर गरे।

संयोजक प्रचण्डले पुराना र नयाँबीचको खाडल खनेर समाज र राजनीतिलाई विभाजित गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरे। “सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो,” उनले भने, “पुराना र नयाँको भाष्यले विभाजन मात्र निम्त्याउँछ, तर सही र गलतको बहसले समाजलाई रूपान्तरणसहितको नयाँ एकताको आधार दिन्छ।”

उनले आफूलाई समेत त्यही ‘गलत’ भाष्यभित्र घिसार्न खोजिएको भन्दै त्यसको प्रतिवाद गरे। सम्बोधनका क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको विगतको सहकार्यलाई विशेष रूपमा स्मरण गरे। अघिल्लो संसदमा आफूले प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा रास्वपासँग अत्यन्तै बलियो सहकार्य गरेको उनले उल्लेख गरे।

उनले सुशासन, सेवा प्रवाहमा सरलीकरण, मेरिटोक्रेसीको कार्यान्वयनका साथै ललिता निवास जग्गा प्रकरण र भुटानी शरणार्थी जस्ता ठूला भ्रष्टाचार काण्डको अनुसन्धानमा आफूहरूले ऐतिहासिक काम गरेको दाबी गरे।

प्रतिपक्षमा रहँदा आफ्नो दलको संख्या सानो भए पनि दुई-तिहाइको शक्तिशाली सत्तापक्षले गरेका बेथिति र विकृतिविरुद्ध दृढतापूर्वक लडेको उनले बताए। दार्शनिक र समाजशास्त्रीय दृष्टिकोणबाट पनि पुरानालाई मात्रै दोष दिने प्रवृत्ति गलत रहेको उल्लेख गर्दै प्रचण्डले अबको राजनीति विचार र कामको सही-गलतका आधारमा हुनुपर्नेमा जोड दिए।

उनले संघीय संसदमा देखिएको समावेशी र समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको चुनावी नतिजाभन्दा ठूलो उपलब्धिको रूपमा व्याख्या गरे। उनले वर्तमान संसदको संरचनालाई ‘रगतले लेखिएको कथा’ को संज्ञा दिए। उनले निर्वाचनमा पार्टीको आकार सानो वा ठूलो हुनुभन्दा पनि उत्पीडित वर्ग र समुदायका प्रतिनिधिको ‘इन्द्रधनुषी’ उपस्थितिले आफूलाई बढी गर्वित तुल्याएको बताए।

संयोजक प्रचण्डले संसद भवनलाई केवल सिमेन्ट र इँटाको संरचना मात्र नभई हजारौँ शहीदको शहादतको जगमा उभिएको पवित्र स्थलका रूपमा चित्रण गरे। विगतमा आफूहरूले उठाएको बन्दुकले सामन्तवादको ढोका नखोलेको भए आज मन्त्री र सांसदको रूपमा उत्पीडित समुदायका प्रतिनिधिहरू यहाँ देखिने अवस्था नरहने उनको दाबी थियो।

उनले भावुक हुँदै भने- संसदमा जुनसुकै दलबाट जोसुकै प्रवेश गरे पनि आफूलाई आफ्नै क्रान्तिको मर्म प्रवेश गरेजस्तो महसुस हुन्छ।’ उनले सशस्त्र युद्धदेखि पछिल्लो ‘जेनजी’ आन्दोलनसम्मका सबै शहीद र घाइते योद्धाहरूको योगदानलाई स्मरण गर्दै सो बलिदान बिर्सिएको दिन यो संसदीय व्यवस्थाको भवन नै ढल्ने चेतावनी समेत दिए।

विशेष सम्बोधनका क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको करिब दुई तिहाइको सफलतालाई स्वीकार गर्दै सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई ज्ञापन गरे। काठमाडौंको मेयर हुँदै बालेन्द्र शाह प्रधानमन्त्री बन्नुलाई उनले आफ्नो क्रान्तिकै संकल्पको जीतका रूपमा अर्थ्याए।

उनले शान्ति प्रक्रियापछि काठमाडौंमा मधेशी पहिचान र आत्मसम्मान स्थापित गर्न आफूले चलाएको अभियानको स्मरण गर्दै अब शान्ति प्रक्रियालाई पूर्णता दिने जिम्मेवारी नयाँ पुस्ता र वर्तमान सरकारको काँधमा आएको उल्लेख गरे।

मङ्गलबार २९ बैशाख २०८३ ०२:५३ PM मा प्रकाशित

प्रतिक्रिया