×

एनपीएल अपडेट: प्लेअफ पक्का गर्ने दाउमा काठमान्डु र सुदूरपश्चिम आमनेसामने, साँझ चितवन र जनकपुरको 'गर या मर' भिडन्त

images

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज शुक्रबार लिग चरणका दुई रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजका खेलहरूले प्लेअफ (शीर्ष चार) मा पुग्ने टोलीहरूको अन्तिम समीकरणलाई अझ स्पष्ट पार्नेछ।


पहिलो खेल: काठमान्डु गोर्खाज विरुद्ध सुदूरपश्चिम रोयल्स (दिउँसो १२:३० बजे)

आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे शीर्ष स्थानको दाबेदार काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स बीच कडा प्रतिस्पर्धा हुनेछ।

जारी प्रतियोगितामा ५ खेलबाट ४ जित र १ हार बेहोर्दै ८ अङ्क जोडेको काठमान्डु अङ्क तालिकाको दोस्रो स्थानमा छ। यता, लिग चरणको आफ्नो अन्तिम खेल खेल्न लागेको सुदूरपश्चिम पनि ६ खेलमा ४ जित र २ हारसहित समान ८ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ। आजको खेल जित्ने टोलीले १० अङ्क पुर्‍याउँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नेछ भने शीर्ष स्थानमा उक्लने अवसरसमेत पाउनेछ।

दोस्रो खेल: चितवन राइनोज विरुद्ध जनकपुर बोल्ट्स (दिउँसो ४:३० बजे)

यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दिनको दोस्रो तथा फ्लडलाइट म्याचमा चितवन राइनोज ले जनकपुर बोल्ट्स को सामना गर्नेछ।

प्लेअफको दौडमा कायमै रहन दुवै टोलीका लागि आजको खेल निकै महत्त्वपूर्ण छ। पाँच खेलबाट २ जित, २ हार र वर्षाका कारण रद्द भएको एक खेलबाट अङ्क बाँड्दै ५ अङ्क जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा छ। अर्कोतर्फ, लिग चरणको आफ्नो अन्तिम खेल खेल्न लागेको जनकपुर ६ खेलमा २ जित र ४ हारसहित ४ अङ्क का साथ छैटौँ स्थानमा खुम्चिएको छ। प्लेअफको गणितीय आशा जीवित राख्न जनकपुरलाई आजको खेल फराकिलो अन्तरले जित्नैपर्ने दबाब छ भने चितवन जित निकाल्दै शीर्ष चारभित्र उक्लने दाउमा मैदान उत्रनेछ।

 

शुक्रबार​ २८ कात्तिक २०८३ ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया