×

दिदीबहिनी र दाजुभाइको स्नेहको उत्सव: देशभर भाइटीका मनाइँदै, बिहान ११:०७ बजेको साइत उत्तम

images

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज बुधबार दाजुभाइले दिदीबहिनीको हातबाट सप्तरङ्गी वा पञ्चरङ्गी टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदै छन्। कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भएकाले यस पर्वलाई शास्त्रमा 'यमद्वितीया' पनि भनिन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा छ। दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ।

बिहान ११:०७ बजे उत्तम साइत, दिनभर टीका लगाउन बाधा छैन

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर नै टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेहरूका लागि बिहान ११ बजेर ०७ मिनेटको समय सबैभन्दा उत्तम रहेको छ। राज्य सञ्चालकहरूले भने अनिवार्य रूपमा तोकिएकै शुभ साइतमा टीका लगाउनुपर्ने समितिले जनाएको छ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन् भने त्यसअघि तुला राशिमा रहनेछन्। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेकाले तुला र वृश्चिक दुवै राशिमा चन्द्रमा रहँदा आज पश्चिम फर्किएका दाजुभाइलाई पूर्व फर्किएका दिदीबहिनीले टीका लगाइदिनु उत्तम मानिन्छ।

भाइटीकाको धार्मिक विधि र पञ्चरङ्गी टीकाको महत्त्व

भाइटीकाका दिन दिदीबहिनीले बिहानै स्नान गरी लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको विशेष पूजा गर्छन्। त्यसपछि मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी (मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम) का साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा गणपत्यादि वनस्पत्यन्त देवताको पूजा आराधना गर्ने विधान छ।

पूजापछि दिदीबहिनीले दाजुभाइलाई कहिल्यै नसुक्ने तेलको धाराले परिक्रमा गर्दै छेकेर परम्पराअनुसार टीका लगाइदिने तथा कहिल्यै नओइलाउने मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला पहिर्‍याउने चलन छ। लोक व्यवहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पञ्चरङ्गी (पाँच रङका) टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले स्पष्ट पार्नुभएको छ।

सगुन, परिकार र दक्षिणा आदानप्रदान

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, काजु, किसमिस लगायतका मरमसला, फलफूल र सेलरोटी जस्ता मीठा परिकारहरू सगुनका रूपमा दिने गर्छन्। बदलामा दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार सौभाग्यका प्रतीक नयाँ वस्त्र, गहना र दक्षिणा दिएर सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ। यो पर्वसँगै आजबाट यस वर्षको उज्यालो र रमाइलो तिहार विधिवत् रूपमा समापन हुँदैछ।

बुधबार २६ कात्तिक २०८३ ०८:५३ AM मा प्रकाशित

प्रतिक्रिया