×

आफ्नै आत्मा पूज्ने विशिष्ट पर्व ‘म्हः पूजा’ आज, नेवार समुदायमा नयाँ वर्षको उमङ्ग

images

काठमाडौँ,२४ कात्तिक । नेपालको गौरव र पहिचानसँग जोडिएको मौलिक संवत् 'नेपाल संवत् ११४७' आज मंगलबार देशभर हर्षोल्लासका साथ मनाइँदै छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले सुरु गरेको यस संवतको नयाँ वर्षका अवसरमा विशेष गरी नेवार समुदायले नयाँ वर्ष मनाउनुका साथै साँझ आफ्नो आत्मालाई पूज्ने ‘म्हः पूजा’ गरिरहेका छन्।

नेवार समुदायको बाहुल्यता रहेका काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वर लगायतका स्थानमा बिहानैदेखि सांस्कृतिक झाँकीसहितका भिन्तुना र्‍याली र विविध कार्यक्रमहरू आयोजना गरिएका छन्।

नेपाल संवतको ऐतिहासिक पृष्ठभूमि र राष्ट्रिय मान्यता

इतिहास अनुसार लिच्छविकालीन राजा राघवदेवको शासनकालमा विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गराएर शङ्खधर साख्वाले यो संवत् सुरु गराएका थिए। लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेकोमा नेपालको नामबाट नामकरण गरिएको यो मौलिक संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म नेपालको राष्ट्रिय संवतका रूपमा प्रचलनमा थियो।

प्रजातन्त्र स्थापना (२००७ साल) देखि नै यस संवतलाई पुनः राष्ट्रिय मान्यता दिलाउन विभिन्न अभियानहरू सञ्चालन भए। सोही अभियानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ सालमा शङ्खधर साख्वालाई 'राष्ट्रिय विभूति' घोषणा गर्नुभएको थियो। पछि २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने ऐतिहासिक घोषणा गर्नुभएको थियो। नेवार समुदायमा आजकै दिन पुरानो बहीखाता बन्द गरी नयाँ वर्ष (कार्तिक शुक्ल प्रतिपदा) का दिनदेखि नयाँ बहीखाता सुरु गर्ने व्यापारिक परम्परा समेत रहिआएको छ।

म्हः (आत्म) पूजाको धार्मिक र आध्यात्मिक महत्त्व

नेपाल संवतको नयाँ वर्षकै दिन नेवार समुदायले आफ्नो शरीर र आत्माको पूजा (म्हः पूजा) गर्ने मौलिक परम्परा छ। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार मानिसको आत्मा नै संसारको सबैभन्दा ठुलो र महत्त्वपूर्ण तत्त्व भएकाले आफ्नै आत्मालाई चिन्ने र पूज्ने हेतुले यो पर्व मनाइन्छ। आफ्नो आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सकेमा मात्रै देवीदेवताहरू पनि प्रसन्न भई आशिष् दिने र मानव जीवन सार्थक हुने धार्मिक विश्वास छ।

तिथि घटबढका कारण दुई दिन पर्व

यस वर्ष तिथिको घटबढका कारण सोमबार र मंगलबार दुई दिन प्रतिपदा तिथि पर्न गएकाले देशका केही स्थानमा यो पर्व मनाउने दिनमा भिन्नता देखिएको छ। केही समूह र क्षेत्रमा सोमबार नै नेपाल संवतको नयाँ वर्ष मनाइिसकिएको छ भने नेवार समुदायकै कतिपय समूहहरूले आज मंगलबार श्रद्धापूर्वक म्हः पूजा र नयाँ वर्ष मनाउँदै छन्।

मङ्गलबार २५ कात्तिक २०८३ ०८:४० AM मा प्रकाशित

प्रतिक्रिया