×

दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर, वर्षमा एकदिन मात्र दर्शनको अवसर

images

काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज बुधबार दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौँको रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। वर्षमा एकपटक आज (भाइटीका) कै दिन मात्र खुल्ने यस मन्दिरमा गएर पूजा, दर्शन गर्ने र टीका ग्रहण गर्ने धार्मिक परम्परा रहिआएको छ। बिहानैदेखि दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीहरू मन्दिर पुगेर टीका लगाइरहेका छन्।

रानीपोखरी र बालगोपालेश्वर मन्दिरको इतिहास

ऐतिहासिक शिलालेख अनुसार राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको अल्पायुमै निधन भएपछि शोकसन्तप्त रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराएका थिए। सोही समयमा पोखरीको ठीक बीच भागमा बालगोपालेश्वर मन्दिरको स्थापना गरिएको इतिहास छ।

जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो

रानीपोखरीको बालगोपालेश्वर मन्दिरका अतिरिक्त काठमाडौँको जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ।

वि.सं. २०३५ सालअघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेश खुल्ला गर्दा पोखरीमा मानिस हामफाल्ने जस्ता अप्रिय घटनाहरू हुने समस्या देखिएपछि सुरक्षाका कारण मन्दिर बन्द गरिन्थ्यो। मन्दिर बन्द रहँदा त्यसबेला जयवागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको ठुलो भीड लाग्ने गर्दथ्यो। पछि बालगोपालेश्वर मन्दिर पुनः खुला गरिएपछि खञ्जनेश्वरमा पहिले जति भीड नलागे पनि भाइटीकाका दिन आज पनि भक्तजनहरूको लाम लाग्ने गर्दछ।


बुधबार २६ कात्तिक २०८३ ०८:५८ AM मा प्रकाशित

प्रतिक्रिया