काठमाडौँ। तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज कार्तिक शुक्ल प्रतिपदाका अवसरमा देशभर धार्मिक परम्परा अनुसार गोवर्द्धन, बली, गोरु र हलि पूजा (हलि तिहार) मनाइँदै छ। कृषि जीवनसँग जोडिएका जीवजन्तु र मानव श्रमको सम्मान गर्दै आजको दिन विशेष उत्सवका रूपमा मनाउने प्रचलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने शास्त्रीय विधि रहेकाले आजै यो पर्व मनाइएको हो।
गोवर्द्धन पूजा र द्वापरयुगको इतिहास
आजको दिन बिहानै घरको आँगन सफासुग्घर र लिपपोत गरी गाईको गोबरबाट गोवर्द्धन पर्वतको प्रतीकात्मक आकृति बनाइन्छ र त्यसलाई गोवर्द्धन पर्वतका रूपमा नै पूजा गर्ने परम्परा छ।
धार्मिक एवं पौराणिक इतिहास केलाउँदै धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले भन्नुभयो, “द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो कान्छी औँला (हत्केला) ले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई देवराज इन्द्रको कोप र मुसलधारे वर्षाबाट बचाउनुभएको थियो। प्रकृति र पर्वतको रक्षाले नै मानव अस्तित्व सम्भव छ भन्ने सन्देश बोकेको सोही ऐतिहासिक घटनाको सम्झनामा गोवर्द्धन पूजा गर्ने प्रचलन चलेको हो।”
बली राजाको स्मरण र देउसीको प्रसङ्ग
भगवान् विष्णुले वामन अवतार लिएर दानवीर बली राजालाई तीन पाइला भूमि दान माग्दा पाताल पठाएको र पछि बलीको भद्र व्यवहारबाट प्रसन्न भई यमपञ्चकका पाँच दिन मर्त्यलोक (पृथ्वी) को शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ।
यसै ऐतिहासिक र धार्मिक विश्वासका आधारमा तिहारमा देउसी खेल्ने समूहहरूले घर-घरमा पुगेर ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा चलेको हो। त्यसैले आज बली राजाको पनि विशेष पूजा आराधना गरिन्छ।
गोरु र हलि पूजा (हलि तिहार)
वर्षभरि खेतबारी जोतेर, हलो तानेर मानव जातिका लागि अन्न उब्जाउन अहर्निश सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी माला, टीका र मीठा परिकार खान दिने चलन छ। हिन्दु संस्कृतिमा गोरुलाई देवाधिदेव महादेवको पवित्र वाहन ‘साँढे’ का रूपमा समेत सम्मानपूर्वक पूजा गर्ने परम्परा छ।
यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने, धर्तीलाई हराभरा बनाउने र मानव हितका लागि श्रम गर्ने हलि (किसान) तथा अन्य कृषि कर्ममा संलग्न श्रमजीवीहरूलाई पनि आज पूजा गरी नयाँ वस्त्र, माला, टीकासहित मीठा परिकार खुवाउने गरिन्छ। श्रमको सम्मान गर्ने यसै विशिष्ट परम्पराका कारण आजको दिनलाई लोक व्यवहारमा 'हलि तिहार' पनि भन्ने गरिन्छ।
प्रतिक्रिया