भर्जिनिया (अमेरिका)। सन् २०२४ को जुलाईदेखि विश्वभरका नेपाली समुदाय र अमेरिकी समाजलाई समेत स्तब्ध बनाएको नर्स ममता काफ्ले भट्ट हत्या प्रकरणमा अदालतले निर्णायक फैसला सुनाएको छ। भर्जिनियाको मनाससस्थित अदालतको जुरीले मङ्गलबार ३९ वर्षीय नरेश भट्टलाई पत्नी ममताको प्रथम श्रेणीको हत्या (First-Degree Murder), शव लुकाएको र मृत शरीरको अपमान (Defiling a dead body) गरेको तीनवटै अभियोगमा दोषी ठहर गरेको हो ।
के सजाय हुनेछ नरेश भट्टलाई ?
जुरीले दोषी ठहर गरेसँगै अब नरेश भट्टलाई कति वर्ष जेल सजाय हुन्छ भन्ने आम चासो बढेको छ। भर्जिनिया राज्यको प्रचलित कानुन अनुसार उनलाई हुने सम्भावित सजायको विवरण यस प्रकार छ:
अदालतले उनको अन्तिम सजाय निर्धारण (Sentencing Hearing) का लागि आगामी सन् २०२७ मार्च १२ (चैत, २०८३) को मिति तोकेको छ । फैसला सुनाइए लगत्तै न्यायाधीशले उनको धरौटी (Bond) खारेज गरी कडा सुरक्षाका बीच हिरासतमा पठाएका छन्। कानुनी विज्ञहरूका अनुसार अदालतमा झुटो बोलेको र क्रूर ढङ्गले शव नष्ट गरेकाले उनलाई न्यायाधीशबाट कुनै पनि सहुलियत (Leniency) मिल्ने सम्भावना न्यून छ र आजीवन कारावासको सजाय हुने प्रबल सम्भावना देखिन्छ ।
आत्महत्याको नाटक र 'ममतालाई फोहोर जस्तै फालियो' भन्ने अभियोजकको तर्क
गत साता अदालतमा बयान दिने क्रममा नरेशले आफ्नो पुरानो भनाइ फेर्दै पत्नीको शव आरा (Saw) ले टुक्राटुक्रा पारेर विभिन्न स्थानका फोहोर फाल्ने कन्टेनर (Dumpsters) मा फालेको स्वीकार गरेका थिए । यद्यपि, उनले ममताले विष (सेल्फोस) खाएर आत्महत्या गरेको र आफू डराएर शव नष्ट गरेको झुटो दाबी पेस गरेका थिए ।
तर, सरकारी वकिल (Prosecutor) सारा सामीले नरेशको कथालाई 'मनगढन्ते र पागलपनपूर्ण झुट' भन्दै कडा प्रतिवाद गरिन् । उनले जुरीसमक्ष भनिन्, “आफ्नी श्रीमती भुइँमा मृत भेट्दा सामान्य मानिसले आकस्मिक सेवा (९११) मा फोन गर्छ, शव काट्दैन । प्रतिवादीले ममताको हत्या गरे, शव टुक्रा पारे र उनलाई फोहोर जस्तै फालिदिए। उनले भर्जिनियाको लुरेस्थित ल्यान्डफिल (फोहोर विसर्जन स्थल) लाई ममताको अन्तिम विश्रामस्थल बनाइदिए।”
डिजिटल प्रमाणका रूपमा नरेशले ममता बेपत्ता हुनुभन्दा महिनौँ अघि (मार्च २०२४ मै) इन्टरनेटमा "श्रीमती बेपत्ता भए के हुन्छ?" र "श्रीमती हराएमा सम्बन्धविच्छेद गर्न मिल्छ?" भनी गुगलमा खोजी गरेको तथ्यले उनको पूर्वयोजनाबद्ध हत्याको नियतलाई पुष्टि गरेको थियो।
२ वर्षपछिको न्याय र 'मिनी ममता' को भविष्य
फैसला सुनाइँदा अदालत कक्षमा नरेश भावविहीन देखिएका थिए भने ममताका परिवारजन, नेपालबाट आएकी आमा गीता काफ्ले र स्थानीय नेपाली समुदायका सदस्यहरू एकअर्कालाई अँगालो हालेर रोएका थिए ।
ममता बेपत्ता हुँदा उनकी छोरी मात्र ११ महिनाकी थिइन्। अहिले ममताका सहकर्मी र नेपाली समुदायले ती बालिकालाई 'मिनी ममता' नाम दिएर माया र संरक्षण दिइरहेका छन् । ममताकी नजिककी साथी होली विर्थले भनिन्, “सत्यको जित भएको छ। ममताको शव कहिल्यै नभेटिए पनि उनी कति प्रिय थिइन् भन्ने कुरा हामी उनकी छोरीलाई सधैँ महसुस गराउनेछौँ ।”
प्रतिक्रिया