चितवन, २४ कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार राति ११ बजे सडकमाथिबाट खसेको ठुलो सुक्खा पहिरोका कारण मंगलबार बिहानसम्म सो सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार सडक डिभिजन र प्रहरीको टोलीले भारी उपकरण (जेसीबी/लोडर) प्रयोग गरी मंगलबार बिहान पौने ८ बजे पहिरो हटाएपछि सडक दुवैतर्फी सञ्चालनमा आएको हो ।
तिहारका यात्रु अलपत्र, सडक खुलाउन रातभर प्रयास
घोप्टेभीरमा लगातार दोहोरिएर पहिरो खस्दा तिहार मनाउन घर जाने तथा चाडबाड मनाएर कार्यक्षेत्रमा फर्किने हजारौँ यात्रुहरू रातभर बाटोमै अलपत्र परेका थिए। पहिरोका कारण सडकमा सवारीसाधनको किलोमिटरसम्म लामो जाम लागेको थियो। यात्रुहरूको सास्तीलाई ध्यानमा राख्दै सुरक्षाकर्मी र सडक आयोजनाका प्राविधिकहरूले रातिदेखि नै पहिरो पन्छाउने कामलाई तीव्रता दिएका थिए।
उक्त सडकखण्डमा सोमबार बिहान पनि सुक्खा पहिरो खसेर लामो समय यातायात अवरुद्ध भएको थियो। एकै स्थानमा पटक-पटक पहिरो खस्ने क्रम नरोकिएकाले सो क्षेत्र भएर यात्रा गर्दा विशेष सजगता अपनाउन र सडकको ताजा अवस्था बुझेर मात्र यात्रा तय गर्न चितवन प्रहरीले आम चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया