काठमाडौँ, २६ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाइएको छ। आगामी फिफा विश्वकप २०२६ को सिलसिलामा मेक्सिको हुँदै अमेरिका प्रस्थान गर्ने तयारीमा रहेका उनीहरू ‘कालोसूची’ (ब्ल्याक लिस्ट) मा रहेका कारण अध्यागमन अधिकारीहरूले सोमबार बिहान प्रस्थान अनुमति दिन अस्वीकार गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार अध्यागमन विभागको मौजुदा रेकर्डमा दुवै जनाको नाम कालोसूचीमा फेला परेपछि उनीहरूलाई विदेश उड्नबाट रोकिएको हो।
एन्फाभित्र भएको आर्थिक अनियमितता र विभिन्न विषयहरूको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाख महिनामै एन्फाका पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका क्रममा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फर्किनुपरेको हो।
फिफा विश्वकप २०२६ मा सहभागी हुन पाउनुपर्ने माग राख्दै एन्फा नेतृत्वले आइतबार मात्रै राष्ट्रिय खेलकुद परिषद् (राखेप) पुगेर आफूहरूमाथिको भ्रमण प्रतिबन्ध फुकुवा गरिदिन विशेष आग्रह गरेको थियो। तर, राखेपले आन्तरिक छानबिन प्रक्रिया नसकिएको भन्दै उक्त बाटो खोल्न स्पष्ट रूपमा अस्वीकार गरिदियो।
राखेपको कडा अडानका बाबजुद विमानस्थल पुगेका उनीहरू अन्ततः सरकारी रेकर्डकै कारण मेक्सिको र अमेरिकाको भ्रमण रद्द गरी अध्यागमनबाटै घर फर्कन बाध्य भएका छन्। एन्फा नेतृत्वमाथि लागेको यो प्रतिबन्ध र विमानस्थलको पछिल्लो घटनाक्रमले नेपाली खेलकुद वृत्तमा नयाँ तरंग पैदा गरेको छ।
प्रतिक्रिया