बार्सिलोना (स्पेन) । आकाशिएको घरभाडा र अचाक्ली महँगीविरुद्ध स्पेनमा १४ वर्षपछि आह्वान गरिएको देशव्यापी आमहडतालमा लाखौँ मानिस सहभागी भएका छन् । बुधबार स्पेनका मुख्य श्रमिक सङ्गठनहरू यूजीटी (UGT) र सीसीओओ (CCOO) तथा भाडावाल सङ्घहरूको आह्वानमा भएको २४ घण्टे हडतालका कारण युरोपको चौथो ठुलो अर्थतन्त्र मानिने स्पेनको जनजीवन ठप्प जस्तै बनेको हो।
दिउँसो शान्तिपूर्ण रूपमा सम्पन्न भएका प्रदर्शनहरू साँझ र रातिपख बार्सिलोना तथा राजधानी म्याड्रिडमा हिंसात्मक बनेका छन् ।
बार्सिलोनामा नकाबधारी समूहद्वारा आगजनी र पसल तोडफोड
बार्सिलोनाको मुख्य व्यापारिक क्षेत्रमा साँझपख दशौँ हजार मानिस सहभागी विशाल र्याली सकिएलगत्तै नकाबधारी युवाहरूको समूहले सडकमा रहेका फोहोर सङ्कलन गर्ने कन्टेनर (डस्टबिन) हरूमा आगजनी गर्नुका साथै पसलका सिसाहरू फुटाएका थिए। प्रदर्शनकारीहरूले "अब भाडा तिर्दैनौँ, बाँच्न देऊ, केवल घिस्रिएर बाँच्ने मात्र होइन" जस्ता नारा लगाएका थिए।
हिंसा भड्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो। स्पेनको गृह मन्त्रालयका अनुसार झडपका क्रममा देशभरबाट ४० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने प्रहरी कारबाहीमा २० जना घाइते भएको श्रमिक सङ्गठनहरूले दाबी गरेका छन्।
औद्योगिक र यातायात क्षेत्र ठप्प, ५० लाख सहभागीको दाबी
हडतालको प्रभाव यातायात, बन्दरगाह र ठुला उद्योगहरूमा सबैभन्दा बढी देखिएको छ। श्रमिक सङ्गठनहरूका अनुसार बन्दरगाह र अटोमोबाइल क्षेत्रमा ९० प्रतिशतसम्म हडताल सफल भएको छ, जसका कारण नाभारास्थित फक्सवागन र बार्सिलोनास्थित सिट (SEAT) का कारखानामा उत्पादन पूर्ण रूपमा ठप्प भयो ।
राजधानी म्याड्रिडमा भारी वर्षाका बावजुद करिब १ लाख २० हजार र बार्सिलोनामा स्थानीय प्रहरीका अनुसार ५५ हजार (आयोजकको दाबीमा ४ लाख) मानिस सडकमा उत्रिएका थिए । आयोजकहरूले दिनभरमा देशभर करिब ५० लाख श्रमिक तथा नागरिक हडतालमा सहभागी भएको दाबी गरेका छन् ।
किन चर्कियो आवास सङ्कट र आक्रोश?
स्पेनको केन्द्रीय बैंकका अनुसार देशमा हाल करिब ७ लाख ५० हजार घरको अभाव छ । औसत मासिक घरभाडा १ हजार १७६ युरो पुगेको छ, जुन स्पेनी युवाहरूको औसत मासिक तलबको झन्डै ९९ प्रतिशत हो । हालै म्याड्रिडमा ८७ वर्षीया वृद्धा मारीकार्मेन अबास्काललाई सात दशकदेखि बस्दै आएको फ्ल्याटबाट निकालिएपछि उनको मृत्यु भएको घटनाले आम नागरिकमा सरकार र घरधनीविरुद्ध तीव्र आक्रोश पैदा गरेको थियो।
आगामी नोभेम्बर २९ मा स्पेनमा मध्यावधि संसदीय निर्वाचन हुन गइरहेको ठीक अगाडि भएको यो आमहडतालले प्रधानमन्त्री पेद्रो सान्चेज नेतृत्वको सरकारलाई ठुलो राजनीतिक दबाब सिर्जना गरेको छ ।
प्रतिक्रिया