काठमाडौं : सेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि देखिएको छ । यस दिन नेप्से सूचक १३.९० अंकले बढेर २६८०.५२ विन्दुमा बन्द भएको छ । यद्दपि, विगत केही दिनको तुलनामा कारोबार रकममा भने सामान्य गिरावट आएको छ । बुधबार ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दिनको सुरुवाती कारोबारमा नेप्से सूचकले २७ सयको मनोवैज्ञानिक रेखा पार गरेपनि अन्तिममा पुनः तल आएर बन्द भएको हो ।
सूचीकृत सबै समूहमा वृद्धि हुँदा एउटा कम्पनी सकारात्मक सर्किट लेभलमा रहेर कारोबार भएको छ । विगत लामो समयदेखि सेयर बजारले साइडवेज प्रवृत्तिलाई नै निरन्तरता दिइरहेको छ । पछिल्लो समय भने चैत मसान्तको प्रभाव पनि बजारमा देखिएको छ । यतिबेला अधिकांश लगानीकर्तालाई बैंकको साँवा–ब्याज तिर्नुपर्ने चटारो हुने भएकाले सेयर बजारले खासै गति लिन सक्दैन ।
अर्कोतर्फ, लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा पनि रहेका छन् । एक त सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण आउने बेला भएको छ । लगानीकर्तामा त्रैमासिक वित्तीय विवरण कस्तो आउँछ भन्ने कौतुहलता पनि रहन्छ । अर्कोतर्फ, राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय पनि चासोको विषय भएको छ ।
नयाँ गभर्नर को हुन्छ र गभर्नरले लिने नीति कस्तो हुन्छ भन्ने विषयले पनि सेयर बजारमा ठूलो प्रभाव पार्ने भएकाले लगानीकर्ता पर्ख र हेरको स्थितिमा देखिएका छन् । यसबाहेक मुलुकको अर्थतन्त्रको आन्तरिक र बाह्य अवस्थाले पनि बजारलाई प्रभावित बनाउँछ । अहिले अर्थतन्त्रको समग्र स्थिति सन्तोषजनक रहेको छ भने ब्याजदर पनि सस्तो नै रहेकाले आगामी दिनमा सेयर बजारमा पनि यसको सकारात्मक प्रभाव पर्ने लगानीकर्ताले आशा गरेका छन् ।
यस दिन ३ सय १७ कम्पनीको १ करोड भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ करोड ७५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङ्स र हिमालयन रिइन्सुरेन्स परेका छन् ।
प्रतिक्रिया