काठमाडौं। पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरु पुग्नेक्रम शुरु भएको छ। विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरुले नाराबाजी शुरु गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम अन्तर्गत राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरु विमानस्थल बाहिर भेला भएका हुन्।
पुर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि विमानस्थल पुगेका छन् । त्यस्तै राजवादी दल राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दल, संघ-संस्थाहरुले नागरिकहरुलाई स्वागतमा भेला हुन आव्हान गरेका छन्।
सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले आज विमानस्थलमा टिकट बाहक र कर्मचारी बाहेक अन्यलाई प्रदेश रोक लगाएको छ।
समर्थकहरुको भिड बढ्दै जान थालेपछि सुरक्षाकर्मीहरुको तैनाथी पनि बढाइएको छ । विमानस्थलको मुख्य गेट अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ ।
यसअघि राप्रपालगायतका विभिन्न समूहले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । चर्को नारावाजीका साथ प्रदर्शनमा उत्रिएका उनीहरुले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नारावाजी गरिररहेका छन् ।
प्रदर्शनकारीले ‘राजतन्त्र जिन्दावाद’, ‘राजा आउ देश बचाउ’, ‘गणतन्त्र मुर्दाबाद’ ‘हाम्रो राजा हाम्रो देश प्यार भन्दा प्यारो छ’ लगायतका नाराहरु लगाएका छन् । राजावादीहरुको प्रदर्शनका कारण यस क्षेत्रको यातायात अवरुद्ध बनेको छ ।
प्रतिक्रिया