काठमाडौँ — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि आज नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। विगतको तुलनामा यसपटक फरक र छरितो संरचनामा मौद्रिक नीति ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ।
अहिले राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक बसिरहेको छ भने त्यसलगत्तै सञ्चालक समितिको बैठक डाकिएको छ। सञ्चालक समितिबाट पारित भएपछि आजै अपराह्न ४:१५ बजे एक पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरिने कार्यक्रम रहेको छ।
यस वर्ष मौद्रिक नीतिलाई बढी वस्तुगत र छरितो बनाउन तीन छुट्टाछुट्टै भागमा विभाजन गरेर जारी गर्ने तयारी गरिएको छ: १. चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा २. अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था ३. आगामी वर्षको मौद्रिक नीति
मौद्रिक नीतिको समीक्षा र अर्थतन्त्रको वर्तमान अवस्थासम्बन्धी पाटो गत आइतबारकै सञ्चालक समिति बैठकबाट पारित भइसकेको छ। आजको बैठकले मुख्य गरी नीतिगत दर र ब्याजदर करिडोरका सीमा लगायतका विषयमा अन्तिम टुङ्गो लगाउनेछ। यसपटक नियामकीय व्यवस्थाहरू मौद्रिक नीतिमा नराखी आवश्यकताअनुसार वर्षभरि नै निर्देशनमार्फत जारी गरिने बताइएको छ।
सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मूल्य वृद्धिदर (मुद्रास्फीति) ६ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको छ। उक्त लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन राष्ट्र बैंकले बजारमा कर्जा प्रवाहलाई सहज बनाउने नीतिगत व्यवस्था गर्ने भएको छ।
हाल बैंक तथा वित्तीय संस्थाहरूमा झन्डै १३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ। तर, २० वटा वाणिज्य बैंकहरूमध्ये करिब आधा बैंकहरू पुँजी कोष (Capital Adequacy Ratio) को दबाबमा रहेका कारण बजारमा कर्जाको माग हुँदाहुँदै पनि थप कर्जा विस्तार गर्न सकिरहेका छैनन्।
बैंकहरूको यही समस्यालाई सम्बोधन गर्न र आर्थिक गतिविधि चलायमान बनाउन अनिवार्य नगद मौज्दात (CRR), ब्याजदर करिडोर, बैंक दर तथा नीतिगत दरहरूमा आवश्यक लचकता अपनाइने स्रोतको दाबी छ।
प्रतिक्रिया