काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । प्रहरीले गए राति नागार्जुन नगरपालिका-६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । थारूमाथि ६५ तोला सुनका गरगहना चोरी गरेको आरोप छ।
मंगलबार मात्रै काठमाडौंको बौद्धस्थित कुमारीगालमा रहेको एक घरबाट मध्याह्न १२ बजेतिर ६५ तोला सुनचाँदीका गहना चोरी भएको थियो। उक्त घटनामा चौधरीकै संलग्नता रहेको भनिएको छ।
निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए । उनका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो । अभियुक्तको खुट्टामा गोली लागेको छ । हाल निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जना प्रहरी पनि घाइते भएका छन् ।
प्रतिक्रिया