×

हिमाली भेगमा हिमपात

images

काठमाडौं। शुक्रबार बिहानदेखि नै देशभर बादल लागेसँगै केही स्थानहरुमा राजधानीमा पानी परेको छ। केही स्थानहरुमा पानीसँगै हिमपात भएकाे छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। गएरातिदेखि डडेल्धुरासहित सुदूरपश्चिममा पानी परेको छ।

पश्चिमी वायुको प्रभावसँगै डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पानी परेको हो। लामो समयदेखि बर्षा नहुँदा चिन्तित बनेका किसानहरु पानी परेपछि खुशी भएका छन्।

बर्खे तरकारी लगाउँने समय भएकाले तरकारी खेती गर्ने किसानहरु उत्साहित भएका हुन्। सिँचाई सुविधा नभएका स्थानका किसानहरु बर्षा भएपछि तरकारी लगाउँनका लागि सहज हुनुका साथै आलु उम्रने समय भएकाले राम्रो उत्पादन हुने भन्दै उत्साहित बनेका छन्।

सुदुरपश्चिमका डडेल्धुरा, बैतडी लगायतका जिल्लामा बर्खे तरकारीबाली लगाउँने किसानहरुको संख्या बढ्दै गइरहेको छ। डोटीमा पनि हिउँदे बर्षासँगै हिउँ समेत परेको छ। खडेरीले बाली सुक्दै गएका बेला लामो समयपछि हिँउदे बर्षा तथा हिमपात हुँदा किसान निकै हर्षित बनेका छन्।

लामो समयसम्म पानी नपर्दा गहुँ बाली लगायत तरकारीहरु सुक्न थालेको र अहिले बर्षात भएपछि केही राहत महसुस भएको स्थानीयको भनाइ छ।

शनिबार १७ फागुन २०८१ ०७:५२ AM मा प्रकाशित

प्रतिक्रिया