काठमाडौं । नेपाल प्रहरीको के–नाइन कार्यालय महाराजगञ्जले कुकुर तिहारको अवसरमा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाएको छ ।
विगत ५५ वर्षदेखि औपचारिक रुपमा कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै आएको प्रहरीले कुकुर तिहारको दिन विभिन्न कला प्रस्तुत गर्दै आएको छ । सोही अवसरमा के–नाइन कार्यालय महाजगञ्जमा बिहीबार प्रहरीका तालिम प्राप्त कुकुरहरुले विभिन्न कला प्रस्तुत गरे ।
के–नाइन कार्यालय प्रमुख तथा डीआईजी देउती गुरुङको उपस्थितीमा प्रहरीले कुकुर तिहार मनाएको हो । यो वर्षको सर्वोत्तकृष्ट कुकुरको अवार्ड भने ‘टाइगर’ नामको के–नाइनले पाएको छ । ‘टाइगर’लाई आज कुकुर तिहारको दिन डीआईजी देउती गुरुङले मेडल समेत प्रदान गरेकी थिइन् । ‘टाइगर’ पछिल्लो दुई वर्षदेखि अनुसन्धानमा खटिँदै आएको छ ।
के–नाइनले सिन्धुपाल्चोककी रत्नकुमारी थापा र नुवाकोटकी नेत्रकुमारी क्षेत्रीको हत्यामा सफल अनुसन्धान गरेको थियो । ‘टाइगर’ कुकुरकै सहयोगले यी दुई महिलाका हत्यारा पक्राउ पर्न सफल भएका थिए । अहिले सात वटै प्रदेशमा प्रहरीको तालिम प्राप्त कुकुर छन् । अनुसन्धानमा परिचालन गर्न अहिले प्रहरीसँग १ सय वटा कुकुर रहेको जनाइएको छ ।
अनुसन्धान गर्न ६ प्रजातिका कुकुर प्रहरीसँग छ । जसमा ल्याबराडोर, जर्मन सेफर्ड, बेल्जियन सेफर्ड, गोल्डेन रिट्रिभर, कोकर स्पानियल र बिगल प्रजातिका कुकुर छन् ।
प्रतिक्रिया