काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नागारिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले सांसदसमेत रहेका चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको थियो । विधान विपरीत पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएपछि बसेको भेलाले श्रेष्ठलाई कारवाही गरेको थियो ।
२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साप्ताहिक भेटघाट कार्यक्रम ‘खुल्ला आँगन’ सुरु गर्ने भएको छ । प्रवक्ता मनिष झाका अनुसार रास्वपाले हरेक शुक्रबार दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म आफ्नो केन्द्रीय कार्यालय, वनस्थलीमा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्न र उनीहरूका सुझाव, गुनासा तथा जिज्ञासा सुन्नका लागि ‘खुल्ला आँगन’ सुरु गर्ने भएको हो ।
३- काठमाडौँ राप्रपाले पार्टीको जिल्ला र स्थानीय तहहरुको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित बनाउन केन्द्रीय पर्यवेक्षक तोकेको छ । राप्रपाले जिल्लागत रुपमा केन्द्रीय पर्यवेक्षक तोकेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका हुन् । यसरी तोकिएका पर्यवेक्षकहरुलाई जिल्ला कार्य समिति, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश पदाधिकारीहरुसंग सम्पर्क र समन्वय गरी जिल्ला अधिवेशनको वातावरण बनाउन, अनुगमन र सहयोग गर्न, भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्न, गराउन, आगामी आन्दोलनको तयारी गर्न, पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न, गराउन आवश्यक सहजीकरण र समन्वय गर्न जिम्मेवारी प्रदान गरिएको राप्रपाले जनाएको छ । पर्यवेक्षकहरुले अविलम्ब आफ्नो कार्य प्रारम्भ गर्न र नियमित प्रतिवेदन पेश गर्नुपर्ने निर्देशन दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
४- प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको आज शुभारम्भ गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रंगशाला निर्माणको घोषणा समेत गरेका छन् ।
५- प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान दिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा कही पनि बाँकी पनि नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ लाग्नुपर्नेमा जोड दिए ।
६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले बुधबार भैरहवामा सम्पन्न पार्टीको संसदीय दलको बैठकमा उपस्थित नभएको बारे स्पष्ट गरेकी छन् । सांसद तोसिमा संसदीय दलको बैठकमा उपस्थित नभएको विषय मिडिया र सामाजिक सञ्जालमा उठेपछि उनले स्पष्ट गरेकी छन् । तोसिमाले आफ्ना बुबा आमा कार दुर्घटनामा परेको कारणले काठमाडौँ उपत्यका छोड्न नसकेको स्पष्ट गरेकी हुन् ।
७- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा सरकार संचालन, मन्त्रिपरिषद्को पुनर्गठनको विषयमा छलफल भएको बताइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेर बहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उप्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललगायत रहेका छन् ।
८- बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित भएको छ । आज दिउँसो १ बजे हुने भनिएको नवनियुक्त तीन मन्त्रीको शपथ प्रदेश प्रमुख अकस्मात बिरामी भएपछि स्थगित भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिएका छन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएपछि उनी आज बिहानै काठमाडौं गएको प्रवक्ता सापकोटाले बताए । कांग्रेस पार्टीमा विवाद बढिरहेका बेला मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए ।
९- दाङमा घरपालुवा कुकुर मरेपछि कुकुर पाल्दै आएका शशीधर पौडेलले किरिया गरेका छन् । दाङको तुलसीपुर उपमहानगर-१७ का वडा सदस्य समेत रहेका शशीधर पौडेलले आफ्नो कुकुर मरेपछि नवौ दिनसम्म किरिया गरेका हुन् । कुकुरको मृत्यु साउन ६ गते भएको थियो भने पौडेलले ९ दिनसम्म किरिया गरी अन्तिम संस्कार सम्पन्न गरेका छन् । पौडेलले भुस्याह कुकुरको टोकाईबाट भाग्ने क्रममा खोलामा खसेर कुकुरको मृत्यु भएको जानकारी दिएका छन् । साथै नवौं दिनको दिन छिमेकी र अन्य जनप्रतिनिधिसमेत सहभागी भएर कुकुरलाई अन्तिम श्रद्धान्जली दिइएको छ ।
१०- पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अनुसार २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएकोमा यस अघि पहिलो चरणमा छानिएका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छानिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् । उत्कृष्ट सूचीका परेका ५ पुस्तकमा छुदेन काविमोको आख्यान उरमाल, रमेश भुसालको गैरआख्यान छालबाटो, भवानी खतिवडाको नियात्रा प्रणाम सगरमाथा, सरस्वती प्रतीक्षाको उपन्यास स्व र तीर्थ गुरुङको उपन्यास हिउँको गीत रहेका छन् । अब यस सूचीबाट निर्णायक मण्डलले पद्मश्री साहित्य पुरस्कार चयन गर्ने बताइएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक बर्ष पद्माश्री साहित्य पुरस्कार, पद्माश्री साधना सम्मान र पद्माश्री गौरव पुरस्कार गरी तीन विधामा साहित्य पुरस्कार प्रदान गर्ने गर्दछ । हरेक पुरस्कारको राशी तीन लाख नगद र सम्मान पत्र रहेको छ ।
११- साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
१२- नेप्से परिसूचकमा आज पनि गिरावट आएको छ । नेप्से विहिबार ३१.५० अंकले घटेर आज २९२२.६३ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
१३- दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँडपश्चात सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरेको हो । यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतममा ५० हजार कित्ता आवेदन दिन सकिनेछ। यस आईपीओको आवेदन दिने अन्तिम मिति साउन १९ गते रहेको छ ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको ८ सयले घटेर तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९४ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले घटेर २२७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३१० मा कारोबार भएको थियो ।
१५- एएफसी यू-२० महिला एसियन कप क्वालिफायर्स खेल्न नेपाली टिम भुटान प्रस्थान गरेको छ । नेपाली टिम विहिबार बिहान भुटानतर्फ प्रस्थान गरेको हो । भुटान जाने नेपाली राष्ट्रिय यू -२० महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघले बुधबार दशरथ रंगशालामा बिदाई गरेको थियो । प्रतियोगिताको समूह 'ए'मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता भुटानमा यही अगस्ट ६ देखि १० सम्म हुने तालिका रहेको छ । नेपालले पहिलो खेल भुटानसँग अगस्त ६ मा खेल्ने छ भने दोस्रो खेल साउदी अरेबियासँग अगस्त ८ मा र तेस्रो खेल अगस्त १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।
१६- आइसीसी टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार विश्वकपको ग्लोबल छनोट नेपालमा हुने जानकारी दिएको छ । प्रतियोगिता २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ । यस छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी हुने छन् । नेपालले एसियाली छनोटको दोस्रो स्थानमा रहँदै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको थियो । एसियाली छनोटबाट थाइल्याण्ड र नेपाल छानुत भएका थिए भने अमेरिका क्षेत्रीय छनोटबाट अमेरिका छनौट भएको छ । त्यस्तै २०२४ मा आईसीसी महिला विश्वकपमा सहभागिता जनाएकाले बंगलादेश र आयरल्याण्डले सिंधैं ग्लोबल छनोट खेल्ने छन् । त्यसैगरी अफ्रिका र युरोपबाट ग्लोबल छनौट खेल्ने २-२ तथा पूर्वी एसिया-प्रशान्त क्षेत्र छनोटबाट एक देशको टुंगो लाग्न बाँकी रहेको छ ।
१७- अष्ट्रेलियाली सरकारले डिसेम्बरदेखि युट्युबलाई ती सामाजिक सञ्जाल प्लेटफर्महरूमा समावेश गर्ने घोषणा गरेको छ, जहाँ कम्तिमा १६ वर्ष उमेरका बालबालिकाले मात्र एकाउन्ट बनाउन पाउने छन् । सरकारले युट्युबलाई यो प्रतिबन्धबाट छुट दिने निर्णयलाई उल्टाएको छ । गत वर्ष नोभेम्बरमा संसदले यो कानून पारित गर्दा फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र एक्स जस्ता प्लेटफर्महरू १६ वर्ष मुनिका बालबालिकाका लागि प्रतिबन्धित गरिएको थियो, तर युट्युबलाई यसबाट छुट दिइएको थियो । यो नियम डिसेम्बर १० देखि लागू हुनेछ र यदि कुनै पनि प्लेटफर्मले नाबालिगहरूलाई रोक्न जिम्मेवार कदम चालेन भने, त्यसलाई ५ करोड अस्ट्रेलियाली डलर (लगभग ३ करोड ३० लाख अमेरिकी डलर) सम्म जरिवाना गर्न सकिने बताइएको छ ।
१८- पाकिस्तानले चीनको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट आफ्नो रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले जानकारी दिदै यो उपग्रह पाकिस्तानको अन्तरिक्ष एजेन्सी सुपरकोले चिनियाँ कम्पनीहरू सिइटिसी र माइक्रोस्याटसँगको सहकार्यमा विकास गरिएको बताएको हो । विदेश मन्त्रालयले भनेको छ- 'यो उपग्रहले उच्च गुणस्तरका तस्बिरहरू पठाउनेछ, जसले पाकिस्तानलाई शहरहरूको योजना बनाउन, सडक र भवनहरू विकास गर्न, प्राकृतिक प्रकोपहरूसँग जुध्न, कृषिको अनुगमन गर्न, जलवायु परिवर्तन बुझ्न राम्रो प्रयोग गर्न मद्दत गर्नेछ ।'
१९- उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीहरू इजरायली गोलीबारीबाट मारिएका छन् । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव आइपुगेको बताएको एएफपीले उल्लेख गरेको छ । अस्पतालले कम्तिमा ४८ प्यालेस्टिनीहरू मारिएको दाबी गरेको छ ।
२०- अमेरिकाकी प्रसिद्ध पप स्टार केटी पेरी र क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडो हालैसँगै डिनर गरिरहेको अवस्थामा देखिएका थिए । मिडिया रिपोर्टका अनुसार, यी दुई जुलाई २८ को राति मोन्ट्रियलको ले भ्यालन रेस्टुरेन्टमा एकसाथ देखिएका थिए । यो भेटघाटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा केटी पेरी र ट्रुडो टेबलमा बसेर एकअर्कासँग कुरा गरिरहेको देखिएको छ । दुवैलाई सँगै देखे पछि दुवैबीचको प्रेम सम्बन्धको अनुमान शुरु भएको छ । यो डिनर एक निजी डेट जस्तै थियो, तर दुवै एक्लै थिए । उनीहरूसँगै धेरै सुरक्षा गार्डहरू पनि उपस्थित थिए, जसले उनीहरूको गतिविधिहरू निगरानी गरिरहेका थिए । सुरक्षा गार्डहरूले सिटमा बसेर सिसाको भित्ताबाट निगरानी गरेका थिए ।
प्रतिक्रिया