काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको जिकिर गरे ।
‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ ।’ उनले पूर्वराजा ज्ञानेन्द्र शाहकै उक्साहटमा अराजकता मच्चिएको बताएका हुन्।
‘तत्कालीन राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै बक्तव्यवाजी गर्नुभयो। त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो। फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो। र, चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमाण्डर तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो,’ उनले भने।
साथै, उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिएका छन् ।
प्रधानमन्त्री ओलीले यति भनिरहँदा राप्रपाका सांसदहरुले विरोध जनाइरहेका थिए । राप्रपाका प्रवक्तासमेत रहेका ज्ञानबहादुर शाहीले नियमावलीको उल्लङ्घन भएको दाबी गर्दै विरोध जनाइरहेका थिए । राप्रपाले निरन्तर विरोध जनाइरहँदा पनि बोलिरहेका प्रधानमन्त्री ओलीले जवाफ फर्काए, ‘नियमावलीको होईन, यहाँ संविधान उल्लङ्घन गर्ने, व्यवस्था मास्ने कुरासित म प्रश्न उठाइरहेको छु । यस देशमा सबैले संविधान मान्नुपर्छ, व्यवस्था मान्नुपर्छ । होहल्ला गरेको भरमा राजनीति र संसद् अवरोध गर्ने काम गर्न मिल्दैन ।’
प्रतिक्रिया