×

यस्तो छ रवि, बालेन र कुलमानबीच भएको सहमति

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ।

रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच आज अबेर साँझ सात बुँदे सहमति भएको हो। सहमति हुँदा काठमाडौं महानगरपालिका मेयर बालेन शाह पनि साथमै रहेका थिए।

सहमति अनुसार कुलमानलाई रास्वपाको उपसभापति बनाइने छ।

 

सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेले हस्ताक्षर गरेका छन्।

रास्वपामा पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसके पनि आज उपसभापति कुलमानलाई दिने गरी थप सहमति भएको हो।

तीन शक्तिबीचको एकतामा दलभित्रको संरचनामा पदीय भागबन्डाका कुरा पनि मिसिएका छन् । सभापतिमा रवि लामिछाने रहने छन् । बालेन्द्र शाह प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् । कुलमान घिसिङ चाहिँ पार्टीका सभापति पछिको पहिलो दर्जाको उपसभापति रहनेछन् । समानुपातिक सूचिमा १८ जना उज्यालो नेपाल पार्टीका तर्फबाट र बालेनका तर्फबाट ४० जना रहने भद्र सहमति छ ।

पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन पद बाडफाँट गरेर अघि बढेका उनीहरूको मूल उद्देश्य कुशासनविरुद्ध उभिने र योग्यता प्रणालीलाई स्थापित गर्ने भन्ने छ ।

यो सहमति जुटाउन तीन शक्तिबीच पटक-पटक छलफल भएको थियो । उक्त छलफलले पहिलो चरणमा रास्वपा र बालेनबीच सहमति जुटायो । सोमबार दोस्रो चरणमा कुलमानसँग सहमतिमा पुग्यो ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच सहमति भएपनि कुलमानसँग कुरा मिल्न सकेको थिएन ।

 

मङ्गलबार १५ पुस २०८२ ०७:४२ AM मा प्रकाशित

प्रतिक्रिया