×

मलेसिया श्रमिक पठाउने प्रक्रियामा दुई अर्ब अनियमितता प्रकरण : पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

images

काठमाडौँ । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा भएको करिब दुई अर्ब रुपैयाँ बराबरको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा मुछिएका नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार बिहान अर्याललाई नियन्त्रणमा लिएको हो।

ब्यूरोले अर्याललाई कहाँबाट र कसरी नियन्त्रणमा लिइएको हो भन्नेबारे विस्तृत औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन। यद्यपि, आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको सीआईबीले जनाएको छ। 

किन पक्राउ परे अर्याल ?
अर्याल वि.सं. २०७९/८० मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए। तत्कालीन समयमा मलेसिया जाने नेपाली श्रमिकहरूसँग गैरकानुनी रूपमा असुलिएको रकम विदेश पठाउन अनुमति दिने निर्णय तथा प्रक्रियामा अर्यालको प्रत्यक्ष संलग्नता देखिएको प्रहरीको अनुसन्धानले देखाएको छ। सहसचिव, सचिव हुँदै मन्त्रीसम्म प्रस्ताव लैजाने र कानुनी प्रक्रिया तथा अधिकार क्षेत्र मिचेर विदेशी मुद्रा अपचलन गराउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो। 

के हो प्रकरणको पृष्ठभूमि ?
नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारीपत्र (एमओयू) विपरीत मलेसिया जाने नेपाली श्रमिकहरूसँग स्वास्थ्य परीक्षणलगायत विभिन्न शीर्षकमा सरकारले तोकेको भन्दा बढी र अवैध शुल्क असुलिएको थियो। सीआईबीको प्रारम्भिक अनुसन्धान अनुसार करिब ७ लाख ५० हजारभन्दा बढी श्रमिकबाट अतिरिक्त रकम असुल गरी संगठित समूहको लाभका लागि १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ (अमेरिकी डलर र बेलायती पाउन्डमा) गैरकानुनी माध्यमबाट मलेसिया पठाइएको थियो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र र पीडित पक्षको जाहेरीका आधारमा सीआईबीले 'ठगी तथा संगठित अपराध निवारण ऐन, २०७०' र विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो। श्रमिकमाथि ठगी भइरहेको जानकार हुँदाहुँदै पनि पदीय जिम्मेवारी पूरा नगरी उल्टै गैरकानुनी रूपमा रकम विदेश पठाउन सघाएको आरोप उच्च अधिकारीहरूमाथि लागेको छ। 

को–को परे पक्राउ ?
यसै भ्रष्टाचार प्रकरणमा संलग्न रहेको अभियोगमा सीआईबीले बुधबार मात्र दुई पूर्व श्रममन्त्रीसहित छ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्। त्यसअघि प्रहरीले स्वास्थ्य परीक्षणमा बढी शुल्क असुल्ने चार जना व्यवसायीलाई समेत पक्राउ गरिसकेको थियो। 

पूर्व मुख्यसचिव अर्यालको पक्राउसँगै यस प्रकरणमा पक्राउ पर्ने उच्च पदस्थ सरकारी अधिकारी तथा मन्त्रीहरूको संख्या सात पुगेको छ। सीआईबीले पक्राउ परेका सबै आरोपितहरूमाथि अदालतबाट म्याद थप गरी विस्तृत बयान र प्रमाण संकलनको कार्य जारी राखेको जनाएको छ। 

शुक्रबार​ ५ मंसिर २०८३ १०:३७ AM मा प्रकाशित

प्रतिक्रिया