×

रास्वपा सभापति लामिछानेको निर्देशन: कोशी र मधेशका सांसदहरूलाई तत्काल जिल्ला फर्केर सामाजिक सद्भाव कायम गर्न आग्रह

images

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका आफ्ना सबै संघीय सांसदहरूलाई तत्काल आ-आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिएका छन्। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहीबार बसेको आकस्मिक बैठकमा सभापति लामिछानेले सुनसरी र सिरहा लगायतका जिल्लाहरूमा विकसित पछिल्लो सुरक्षा संवेदनशीलता र साम्प्रदायिक तनावलाई मत्थर पार्न सांसदहरूलाई मैदानमै उत्रिन निर्देशन दिएका हुन्। 

सभापति लामिछानेले सांसदहरूलाई काठमाडौँमा मात्र केन्द्रित नभई आ-आफ्नो क्षेत्रका नागरिक, स्थानीय प्रशासन र सरोकारवालाहरूसँग प्रत्यक्ष संवाद र समन्वय गर्न सचेत गराए। 

बैठकमा सभापति लामिछानेले सुनसरी घटना र त्यसपछि सिरहाको गोलबजार लगायतका क्षेत्रमा फैलिएको अशान्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले बाहिरी तत्वहरूले नेपाली समाजको रैथाने सामाजिक र धार्मिक सहिष्णुता भत्काउन खोजेको भन्दै जनस्तरमा गएर विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए। 

कोशी र मधेशका सबै सांसदहरू शुक्रबार नै आ-आफ्नो कार्यक्षेत्र र जिल्लामा पुग्नेछन्। स्थानीय स्तरमा रहेका विभिन्न समुदाय, धार्मिक तथा सामाजिक अगुवाहरू र राज्यका सुरक्षा संयन्त्रसँग मिलेर समन्वयकारी भूमिका निर्वाह गर्ने। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट समाजमा साम्प्रदायिक द्वेष र उत्तेजना फैलाउन खोज्ने प्रयासलाई निरुत्साहित पार्ने। विषम परिस्थितिमा जनताको माझमै उपस्थित भएर समस्याको राजनीतिक तथा सामाजिक समाधान खोज्न पहल गर्ने। 

तराई-मधेशका केही जिल्लाहरूमा धार्मिक र सामाजिक तनाव बढ्दै गएपछि रास्वपाले राजनीतिक तहबाट स्थिति सामान्य बनाउन लगातार प्रयास गरिरहेको छ। सभापति लामिछानेकै अग्रसरतामा बुधबार सिंहदरबारमा सर्वदलीय बैठक समेत आयोजना गरिएको थियो, जसले सामाजिक सद्भाव र स्थायी शान्तिका लागि ७ बुँदे संयुक्त अपिल जारी गरेको थियो। 

बिहीबारको बैठकमा उपसभामुख इन्दिरा राना, सांसदहरू मनीष झा, दीपककुमार साह, अशोक चौधरी, यज्ञमणि न्यौपाने लगायत कोशी र मधेश प्रदेशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकमा सांसदहरूले गृह प्रशासनको कमजोरी र स्थलगत वस्तुस्थितिबारे सभापति लामिछानेलाई ब्रिफिङ समेत गरेका थिए। 

बिहीबार १४ साउन २०८३ ०८:५० PM मा प्रकाशित

प्रतिक्रिया