काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभाव तीव्र बनेसँगै देशभर प्राकृतिक विपद्को जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी तीन दिन देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा, मेघगर्जन, चट्याङ्ग र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले असार १६, १७ र १८ गतेका लागि विशेष चेतावनी जारी गर्दै भू-क्षय, पहिरो, गेग्रान बहाव र डुबानको उच्च जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन र मौसमको पछिल्लो सूचनामा अध्यावधिक रहन आम नागरिक तथा सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा को समेत सम्भावना रहेको छ ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को प्रक्षेपण गरिएको छ । यसका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ ।
दिउँसो र राति: देशभर मौसम पूर्णतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनुका साथै मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ ।
दिउँसो र राति: देशभर पूर्णतया बदली रहने महाशाखाको अनुमान छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा र हावाहुरी को जोखिम उच्च रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लाई बढी सतर्क रहन आग्रह गरेको छ ।
यी क्षेत्रमा हुनसक्छ असर:
पहाडी भू-भाग: भू-क्षय, पहिरो तथा गेग्रान बहाव (Debris Flow) को जोखिम ।
तराई र सहरी क्षेत्र: नदीनाला तथा खोल्साहरूमा जलसतह बढ्ने र होचा भू-भागहरू डुबानमा पर्ने खतरा ।
यातायात र दैनिक जनजीवन: सडक यातायात, हवाई उडान, कृषि, पर्यटन तथा स्वास्थ्य क्षेत्र प्रभावित हुनसक्ने ।
मौसमविद्हरूका अनुसार मनसुन सक्रिय भएसँगै लगातारको झरीले जमिन गलिसकेको हुनसक्ने हुनाले कमजोर भिरालो जमिन आसपास बस्नेहरूले विशेष ध्यान दिनुपर्छ । नदी तटीय क्षेत्रमा बस्ने बासिन्दालाई जलसतहको नियमित निगरानी गर्न र बाढीको पूर्वसूचना प्रणालीप्रति सतर्क रहन भनिएको छ । लामो दूरीको यात्रा गर्दा सडक अवरोधको अवस्था बुझेर मात्र निस्कन महाशाखाले सुझाव दिएको छ ।
प्रतिक्रिया