×

आजको मौशम - हल्कादेखि मध्यम वर्षाको सम्भावना

images

काठमाडौं। हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिकै फैलिएको न्यून चापीय रेखाको संयुक्त प्रभाव देखिएको छ।

यस मौसमी प्रणालीका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण रूपमा बदली भएको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ।

देशका बाँकी तराई क्षेत्रमा भने आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा समेत भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। यसै क्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा र हिमपात हुने सम्भावना छ।

यसैगरी मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा पनि वर्षाको आकलन गरिएको छ। आज दिउँसो देशका तराई र पहाडी भू-भागका केही स्थानहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

आज रातिको मौसम भने सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बादल लाग्नेछ।

रातिको समयमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा साथै कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसममा आएको यो परिवर्तन र चट्याङ, हावाहुरी एवं हिमपातको जोखिमलाई ध्यानमा राख्दै दैनिक जनजीवन र यात्रा गर्दा सचेत हुन अनुरोध गरिएको छ।

शनिबार १६ जेठ २०८३ १०:२५ AM मा प्रकाशित

प्रतिक्रिया