काठमाडौं। जनमत पार्टीले रेशम चौधरीलाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । पार्टीका केन्द्रीय प्रवक्ता डा. शरददसिंह यादवले आदिवासी, मधेशी र थारुलगायतका पहिचानवादी शक्तिलाई एक हुन र बलियो हुन नदिनको लागि आज कार्यक्रमस्थलबाट चौधरीलाई पक्राउ गरिएको भन्दै विरोध जनाए ।
उनले भने,‘यो एउटा आदिवासी, मधेशी, थारुलगायत पहिचानवादी शक्तिलाई बलियो हुनबाट रोक्ने सरकारी प्रपञ्च हो । उहाँले त संरक्षकमात्रै बस्छु, कार्यक्रमस्थलबाट पक्राउ गर्नु प्रष्ट गर्दैछ ।’ अब कसरी अघि बढ्ने भन्ने विषयमा नाउपा र जनमत पार्टी अहिले बेग्लाबेग्लै छलफलमा जुटेका छन् ।
नाउपाले लिने निर्णयपछि मात्रै आफ्नो दलले पनि निर्णय लिने उनको भनाई छ । रेशम पक्राउ परेसँगै आज हुने भनिएको दुई पार्टीबीचको एकता स्थगित् भएको छ । कार्यक्रमस्थल प्रज्ञा भवनमा भेला भएका नेता तथा कार्यकर्ताहरुलाई आ आफ्नो घर जान भनिएको छ ।
चौधरीलाई बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमको ठिक अघि उनलाई पक्राउ गरिएको हो । चौधरी पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका थिए । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको छ ।
प्रवक्ता यादवले भने, ‘हामी कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने बारेमा छलफलमा थियौँ । हामीले पनि गिरफ्तार गरेको भन्नेबारे सुनेका हौँ । किन लिएर गएका हो केही थाहा छैन ।’ उनले थपे, ‘कुनै जानकारी नदिई संरक्षकज्यूलाई पक्राउ गरेर एकीकरण हुन नदिनलाई यो काम गरियो । थारु मधेसी एक ठाउँमा नआओस्, पहिचानवादी शक्तिहरू एक ठाउँमा नआओस् भनेर सन्देश गएको छ ।’
प्रतिक्रिया