काठमाडौँ। नेपाली सुनचाँदी बजारमा लगातार दोस्रो दिन पनि सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। सोमबार एकै दिन तोलामा ५ हजार रुपैयाँले घटेको सुनको भाउ मंगलबार पनि भारी परिमाणले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै दुई दिनको अवधिमा मात्रै सुनको मूल्य कुल ८ हजार ८ सय रुपैयाँले घटिसकेको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि निरन्तर गिरावट देखिएको छ। सोमबार तोलामा १४५ रुपैयाँले घटेको चाँदी मंगलबार पुनः २ सय ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा झरेको छ।
यसअघि गत माघ १५ गते सुनको मूल्य एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दु ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। सोही दिन चाँदीको भाउ पनि हालसम्मकै उच्चतम ७ हजार ५ सय ५ रुपैयाँ पुगेको रेकर्ड छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव र मूल्य समायोजनका कारण स्थानीय बजारमा पनि सुनचाँदीको भाउमा लगातार गिरावट आएको हो।
प्रतिक्रिया