एजेन्सी । पाकिस्तानले नियन्त्रण रेखामा आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने भारतीय जासुसी ड्रोन खसालिएको दाबी गरेको छ ।
सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानको सरकारी रेडियोले भारतले भाम्बरको मनावर सेक्टरमा ड्रोन प्रयोग गरेर जासुसी गर्ने प्रयास गरेको समाचार दिएको छ । यसबारे भारत सरकारको तर्फबाट भने हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।
अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणमा २६ जना मारिएका थिए । उक्त हमलापछि भारतले पाकिस्तानविरुद्ध विभिन्न कदमहरू चालेको थियो । सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारी सीमाना बन्द गर्ने, भिसा सुविधा फिर्ता लिने लगायतका कदम भारतले चालेपछि पाकिस्तानले पनि थुप्रै घोषणा गरेको छ । जसमा शिमला सम्झौतासहित भारतसँग भएका सबै द्विपक्षीय सम्झौता निलम्बन गर्ने, हवाई क्षेत्र र सीमाना बन्द गर्ने, व्यापार निलम्बन गर्ने र भारतलाई पाकिस्तानी आकाश प्रयोग गर्न रोक लगाउने निर्णयहरू सामेल छन्।
भारतझैं पाकिस्तानले पनि रक्षा सल्लाहकार र उनका सहायकहरूलाई देश छाड्न भनेको छ र आफ्नो कूटनीतिक कर्मचारी संख्या समेत सीमित गरेको छ ।
पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्ले भारतले सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय अस्वीकार गर्दै सन्धिअनुसार पाकिस्तानको भागमा पर्ने पानीको बहाव रोक्ने वा मोड्ने कुनै पनि प्रयास युद्धको कारवाही मानिने र यसको पूरा शक्तिसाथ जवाफ दिइने जनाएको छ ।
प्रतिक्रिया