×

दाङका थारू बस्तीमा माघीको चहलपहल सुरु

images


देउखुरी (दाङ), १२ पुस : माघी नजिकिएसँगै दाङका थारू बस्तीमा चहलपहल सुरु भएको  छ । थारू जातिको सबैभन्दा ठूलो पर्व माघी आउनुभन्दा एक महिनाअघिदेखि तयारी भइरहेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । पर्वमा थारू समुदायमा गाउँका महतवा (अगुवा)को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउछन् । 

अहिले थारू बस्तीमा नाचगान र खानपिनको तयारी भइरहेको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका सोमती चौधरीले बताउनुभयो । माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने काम भइसकेको उहाँले सुनाउनुभयो । “खानाका परिकार बनाउन एक महिनाअघिदेखि तयारी गर्नुपर्ने हुन्छ, त्यसैको तयारीमा लागेका छौँ”, सोमतीले भन्नुभयो, “ढिक्री, रोटी पकाउने, अनदीको विशेष झोल (जाँड) र भातलगायत विशेष मीठा–मीठा परिकारको तयारीमा जुटेका छौँ ।” पुसमा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने गरेको उहाँले बताउनुभयो । 

थारू समुदायले माघमै आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरूपमा लिइँदै आएको घोराही–६ का भीमबहादुर चौधरी बताउनुहुन्छ । उहाँले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । थारू जातिले माघलाई नाचगान, खानपिनमा विशेष महत्व दिने गर्दछन् । वर्षभरि गरेका कामको समीक्षा गर्ने र आगामी कामको योजना बनाउने चौधरीको भनाइ छ । 

थारू समुदायका व्यक्तिले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्छन् । गाउँभरिका मानिस एकैठाउँ जम्मा भएर आगो ताप्ने र भाले बासेसँगै नदी तथा खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिएर घरमा आएपछि खिचडी दान गर्ने प्रचलन छ । खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइन्छ । यसरी छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रूपमा चेलीबेटीका घरमा पुर्याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

माघीको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर (थारू भाषामा जिता मार्ना) मारेर बराबरी बाँड्ने चलन छ । गँगटा, माछासँगै घोङीको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको घोराही उपमहानगरपालिका–३ का मतहुँ हिमलाल चौधरीले बताउनुभयो ।  

बिहीबार १२ पुस २०८० ०४:४० PM मा प्रकाशित

प्रतिक्रिया