कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो दल बनाइए माओवादीले भ्रष्टाचारका सबै फाइल खोल्ने बताएका छन् । कञ्चनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले माओवादीलाई पहिलो पार्टी बनाउने प्रक्रिया पनि सुरू भइसकेको दाबी गरे। 'अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरू हुनेछ । भ्रष्टाचारीहरूलाई लखेट्ने प्रक्रिया सुरू गरी नै सक्यौं,' उनले भने।
‘माओवादी एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुनेछ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छोडिने छैन,’ उनले भने, ‘गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन ।’
आफ्नो सरकारले सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटर ब्याजीहरू मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरू पनि आफ्नो उक्त सरकारको भयभीत भए आतङ्कित भएको उल्लेख गरे । ‘अहिलेको सरकार सुशासनका विरुद्ध भ्रष्टाचारका पक्षमा छ । भ्रष्टाचारका विरुद्ध छैन’ अध्यक्ष प्रचण्डले भने ।
उनले आफू नेतृत्वको सरकारले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा एकताबद्ध हुने र समायोजन हुने लहर चलेको बताए । पुनर्वासमा एमाले, कांग्रेस लगायतका पार्टीमा क्रियाशील नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गर्दै प्रचण्डले भने– ‘देशैभरि पनि माओवादीमा एकताबद्ध हुने समायोजन हुने लहर चलेको छ । पर्सि म झापा जाँदै छु। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौँ प्रवेश गर्ने तयारी छ ।’
सो क्रममा सुदूरपश्चिमको विकासमा आफू दत्तचित्त भएर लागेको बताउँदै भारत भ्रमणको बेलामा सिमानाको समस्या समाधान गर्नको निम्ति कञ्चनपुरका विभिन्न भागमा रहेका सीमा समस्यादेखि लिपुलेक कालापानीको समस्या सम्म पनि आफूले खुलेर भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको उनले बताए ।
उनले सुदूर पश्चिममा विश्वविद्यालय स्थापनाको प्रस्ताव गरेको, मध्य पहाडी र हुलाकी लोकमार्गको प्रस्ताव गरेर कार्यान्वयनमा लगेको, कैलाली भजनीमा ४०० केबीको अन्तर्देशीय प्रसारण लाइनको काम अगाडि बढाएको, कृषि तथा स्थानीय स्रोतमा आधारित उद्योग स्थापनाका लागि नीति निर्माण र विद्युतको क्षेत्रमा पनि सेती परियोजना अगाडि बढाइएको, सुदूरपश्चिमका युवाहरूमा क्रिकेटको राम्रो क्रेज भएकोले रङ्गशाला निर्माणमा पहल गरेको समेत उनले बताए । अध्यक्ष प्रचण्डले पञ्चेश्वर परियोजना टुङ्गोमा पुर्याउने कोसिस गर्दै गर्दा सरकार ढलाइएको समेत बताए ।
फरक प्रसंगमा उनले चीनसँग खुलेको नाकाले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने बताए । सुदूरपश्चिममा भौतिक पूर्वाधारको क्षेत्रसँगै अन्य प्रगतिका निम्ति पनि कोसिस गरेको बताउँदै उनले कैलाली, कञ्चनपुरलगायतका क्षेत्रमा नदी नियन्त्रणसँग सम्बन्धित कामलाई दृढतापूर्वकअगाडि बढाउन पहल गर्ने धारणा राखे ।
राज्यसत्ताबाट विभेद् र अपमानमा परेको सेती महाकालीलाई न्याय दिने उद्देश्यले नै माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासका समस्या समाधानमा दृढतापूर्वक लागेको उनको भनाइ थियो ।
प्रतिक्रिया