×

एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

images

काठमाडौं । एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद राजेन्द्र पाण्डेले जानकारी दिए ।

बजेटमा देखिएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पाएकाले पक्षमा मतदान गर्ने निर्णय गरिएको सांसद पाण्डेले जानकारी दिए। ‘आज बिहान पनि प्रधानमन्त्रीसँग कुराकानी भयो। बजेटका कमीकमजोरी सुधार गर्ने आश्वासन पनि पायौं। आगामी दिनमा बजेट निर्माणको प्रणालीमै सुधार गरेर जाने प्रतिबद्धता पनि व्यक्त गरेको हुनाले हामीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गर्‍यौं,’ पाण्डेले भने।

बजेट असन्तुलित भएको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतले विरोध जनाउँदै आएका थिए। प्रतिनिधि सभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

गत १५ जेठमा प्रस्तुत भएको बजेट आज पारित गर्ने कार्यसूची रहेको छ । यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि आफ्ना सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् । 

बुधबार १३ असार २०८० १२:०६ PM मा प्रकाशित

प्रतिक्रिया