×

पशुपतिनाथ मन्दिरको जलहरी प्रकरण : तौल र गुणस्तर परीक्षण गर्न आग्रह

images

काठमाडौं । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण निरूपण गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

प्रतिनिधि सभामा जलहरीमा लगाइएको धातु सुन हो वा पित्तल भन्ने विवाद भएपछि कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सरकार वा संसद्ले समिति बनाएर तौल र सुनको गुणस्तर परीक्षण गर्न अनुरोध गरेका छन् ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिहेकामा आयोगलाई पनि तौल र गुणस्तर परीक्षण गर्न आग्रह गरेको उनले बताए । तर कुनै निकायबाट पनि सो काम नहुँदा विवाद निरूपण नभएको उनको भनाई छ । मुचुल्का उठाउने क्रममा कोषका तर्फबाट भएको त्रुटिका कारण सुरु भएको विवादलाई आधार मानेर अख्तियारले अनुसन्धान गरिरहेको उनको दाबी छ ।

अख्तियारले २०७८ देखि सुरु गरेको अनुसन्धानमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र पूर्वपदाधिकारीलाई बयान लिएको छ । तर यो विषय अझै टुङ्गिएको छैन । अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धान जारी रहेको बताए ।

जलहरीमा प्रयोग भएको सुनको वैज्ञानिक ढङ्गले परीक्षण गर्ने र जलहरीको तौल गर्ने जस्ता वस्तुगत विषयमा प्रवेश नभएको उनले बताए। उनले भने, “के हुँदैछ भन्ने त अनुसन्धान अधिकृतलाई नै थाहा हुन्छ । मलाई यति थाहा छ, अनुसन्धान हुँदैछ ।”

जलहरीको सुनको तौल विवाद महालेखाको प्रतिवेदनमा पनि औँल्याइएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा कोषको मुचुल्कामा ‘जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको’ उल्लेख गरिएको भनिएको छ।

प्रतिवेदनमा रिङ बनाउन प्रयोग भएको सुनको मूल्य सात करोड ८६ लाख ४६ हजार रुपियाँ रहेको उल्लेख छ। जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नगरिएको दाबी प्रतिवेदनमा प्रस्तुत छ । गोरखापत्र दैनिकबाट

 

 

आइतबार​ १४ जेठ २०८० ०७:०१ AM मा प्रकाशित

प्रतिक्रिया