×

वर्षायाममा समेत नियमित रूपमा मेलम्चीको पानी काठमाडौँमा ल्याउने योजना बन्दै

images

काठमाडौं । मेलम्चीको पानी यो वर्षायाममा पनि काठमाडौँमा ल्याउने योजना बनाइएको छ । यदि ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति पु¥याएन भने सामान्य वर्षाको अवस्थामा पनि पानी नियमित सञ्चालन एवं आपूति गर्न लागिएको हो ।

सुरुङका ढोकाहरू खोल्न र बन्द गर्न सकिने प्रविधिका साथै बाढीको पूर्वसूचना थाहा हुने प्रविधि पनि जडान गरेकाले वर्षायाममा समेत नियमित रूपमा आयोजना सञ्चालन गर्ने योजना बनाएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सबै ढोकाहरू उपकरणमार्फत (हाइडो मेकानिकल्ली) बन्द गर्ने र खोल्ने व्यवस्था मिलाइसकिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । सूचना अधिकारी पन्तले भने, “ केही गरी वर्षायाममा पानी धमिलो आएको खण्डमा पनि ढोकाहरू बन्द गर्ने उपाय अपनाइएको छ ।”

“कहिलेदेखि पानी नियमित सञ्चालन गर्ने भन्ने विषयमा अहिले समिति पर्ख र हेरको अवस्थामा रहेको छ । ठूलो क्षति हुने अवस्थामा बाहेक पानी ल्याउन रोकिँदैन । माथितिर ठूलो वर्षा भएको र बाढी आउने सम्भावना छ भन्ने पूर्वसूचना आउँदा ढोका बन्द गरिने छ”, पन्तले भने, “सुरुङभित्र पानी रहिरन्छ र बीचमा केही समयका लागि बन्द भए पनि पानी सङ्लो हुँदा पुनः चलाउने गरी तयारी गरिएको छ ।”

गत वर्ष जसरी नै यो महिना वा त्यो महिनासम्म बन्द गर्ने भनी अहिले नै तालिका नबनाइएको र बाढीका कारण बन्द गर्नुपर्दा छोटो समयका लागिमात्र बन्द हुन सक्ने उनको भनाइ छ । धमिलो पानी आएको समयमा बन्द गर्दै खोल्दै गरेर चलाउन सकिने भए पनि त्यसो गर्दा सुरुङमा बालुवा जाने सम्भावना बढी हुन्छ । पछि केही समय सुरुङ सफा गर्न पनि पानी वितरण बन्द गर्नुपर्ने हुँदा पहिले नै सावधानीपूर्वक चलाउन लागिएको पन्तले बताए ।

सुरुङको गेट नम्बर १ बाट पानी गएपछि ९ नम्बर ढोकाले पखाल्ने काम गर्छ । पखालेपछि केही समय सुरुङमा पानी नराखिने र त्यो त्यो ढोका सफा भएपछि पुनः सुरुङतर्फ पानी पठाउने काम आयोजनाले गर्दै आएको छ । सामान्य वर्षाले मेलम्ची नदीको सतहमात्र बढ्यो भने सुरुङमा पानी पठाउन समस्या नहुने समितिको बुझाई छ ।

मङ्गलबार १२ असार २०८० ०३:२४ PM मा प्रकाशित

प्रतिक्रिया