×

लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस मनाउने

images

लुम्बिनी प्रदेश सरकारले १५औँ गणतन्त्र दिवस मनाउने भएको छ । दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गर्ने तयारी गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । 

 मन्त्रालयद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राष्ट्रिय पर्वका रुपमा जेठ १५ गतेको गणतन्त्र दिवस मनाइने बताउनुभयो । नेपाली जनताको दशकौँ लामो सङ्घर्षबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको जनाउँदै उहाँले गणतन्त्र दिवसलाई भव्य र सानदार बनाउन सबैको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । 

 नेपालमा गणतन्त्र स्थापनामा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले दिवसलाई भव्य बनाउन सहयोग गर्न सञ्चारकर्मीलाई आग्रहसमेत गर्नुभयो । मन्त्रालयका सचिव तथा गणतन्त्र दिवस सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव कोमलप्रसाद धमलाले बुटवलसँग जोडिएका  पालिकासँग समन्वय गरी दिवस मनाउने तयारी गरिएको बताउनुभयो । 

दिवसका अवसरमा शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा शनिबार खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ । बुटवलको चौराहदेखि शङ्करनगरसम्म पाँच किलोमिटर खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको सचिव धमलाले जानकारी दिनुभयो । 

सोही दिन स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको संयोजनमा प्रदेश राजधानी र जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम गरिने छ । दिवसको अवसरमा सबै सङ्घसंस्थाका कार्यालय र आमनागरिकलाई घरघरमा दीपावली गर्न आग्रह गरिने छ । 

गणतन्त्र दिवसका दिन बुटवलको सिद्धेश्वरी लालकुमारी माविमा गणतन्त्र दिवस मूल समारोह आयोजना गरिने छ । समारोह सुरु हुनपूर्व बुटवलको चौराहदेखि कार्यक्रमस्थलसम्म प्रभातफेरी हुनेछ । समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाका प्रमुख तथा उपप्रमुख, सदस्य, मन्त्रालयका कर्मचारी, विभिन्न सङ्घ संस्थाका प्रमुखलगायतको उपस्थिति रहने छ ।

दिवसको भोलिपल्ट १६ गते कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मत्रालय र वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको संयोजनमा प्रदेशमा वृक्षरोपण गर्ने कार्यक्रम राखिएको सचिव दाहालले बताउनुभयो । 

शुक्रबार​ १३ जेठ २०७९ ०५:३६ PM मा प्रकाशित

प्रतिक्रिया