×

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

images

काठमाडौं । एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको हो ।

सत्ता गठबन्धनका नेताहरु एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभा बैठकबाट पारित गर्ने तयारीमा छन् । माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।

सत्ता गठबन्धनको आजको बैठकमा पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने र सत्ता गठबन्धन पनि जोगाउने विषयमा छलफल हुने नेपाली कांग्रेसका एक नेताले बताए ।
 

एमसीसी अनुमोदनका लागि यही फागुन ५ गते प्रतिनिधि सभा बैठकमा पेश भएको थियो । तर सत्ता गठबन्धनका नेताहरुबीच एकमत नहुँदा छलफल सुरु हुन सकेको छैन । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु गर्ने तयारी छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

 

आइतबार​ १५ फागुन २०७८ ११:२२ AM मा प्रकाशित

प्रतिक्रिया