×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयको संख्यामा कटौती गरेकी छन् । प्रधानमन्त्री कार्कीले आफ्नो २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएर ६ जना मात्र कायम राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले जानकारी दिएको छ । प्रधानमन्त्री कार्कीले आफ्नो श्रीमतीलाई सचिवालयमा नियुक्ति दिएका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई भने हटाएकी छैनन् ।  कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ गरि ६ जना मात्र रहने भएका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले श्रीमती संगीतालाई सचिवालयमा नियुक्ति गरेको सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

२-  निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि थप गरेको छ । बुधबार आयोगले मंसिर १० गतेसम्मका लागि तोकिएको दल दर्ताको समय १४ गतेसम्मका लागि थप गरिएको जानकारी दिएको छ । आयोगले भनेको छ: 'निर्वाचन आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरूको जम्मा संख्या १३७ पुगेको छ भने नयाँ दल दर्ताका लागि प्राप्त निवेदनहरू माथिको कारबाहीसमेत जारी रहेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दल लगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै आयोगको मिति २०८२ मंसिर १० गतेको बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि २०८२ मंसिर १४ गतेसम्म थप गरिएको छ ।' मंसिर १० गतेसम्मका लागि दल दर्ताको समय तोकिएकोमा अहिलेसम्म १०६ दलले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन निवेदन दिएका छन् ।

३- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको हो । चितवनले दिएको १७५ रनको लक्ष्य पछाएको विराटनगरले १६.५ ओभरमा अलआउट हुदै १२६ रन मात्र बनाएको थियो ।  विराटनगरका लागि मर्चेन्ट डि लान्गले सर्बाधिक ३९ रन बनाए भने प्रतिस जिसीले ३० रन बनाएका थिए । त्यस्तै साम हिजलेटले २२ रन बनाएका थिए । त्यस्तै चितवनका युवा बलर रन्जीत कुमारले ४ ओभरमा २१ रन दिएर ५ विकेट लिएका थिए । त्य्सैअग्री कमल सिंह ऐरीले २ तथा सोहेल तनवीर, सैफ जैब र कुशल मल्लले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १७४ रन बनाएको थियो । चितवनका लागि रवि भोपाराले सर्बाधिक ६५ रन बनाएका थिए भने सैफ जैबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले २० र डेविड मलानले १७ रन बनाएका थिए । त्यस्तै विराटनगरका बलर सन्दीप लामिछाने र मर्चेन्ट डि लान्गले २-२ विकेट लिएका थिए भने शुभम रन्जानेले एक विकेट लिएका थिए । यो जितपछि चितवनको ३ खेलमा ४ अंक भएको छ । त्यस्तै विराटनगरले भने यस सिजनको पहिलो हार बेहोरेको छ । विराटनगरको ४ खेलमा ६ अंक रहेको छ ।

४- नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको उल्लेख गर्दै जनताको सेवकको रूपमा सधै काम गर्ने बताएका छन् । उनले बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्थानीय विकास, राष्ट्रिय राजनीति र वर्तमान परिस्थिति र नेपाली कम्युनिष्ट पार्टीका बारेमा विस्तृत धारणा राखेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले गरेको काम र जनताप्रतिको सेवा भावबाट आफु प्रभावित भएको बताउँदै प्रचण्डले भने- ' म भगवान होइन । तपाईहरुको सेवाको निम्ति धेरै वर्षदेखि समर्पित जनताको सेवक हु। तै पनि कृष्ण थपलिया जीले मलाई जुन रुपमा प्रस्तुत गर्नुभयो उहाँको भावना र स्पिरिटलाई म कदर गर्छु र उहाँलाई धन्यवाद भन्न चाहन्छु ।' प्रचण्डले प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने नलागेको बताउदै भने- 'मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन । प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन । तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन ।' उनले जनताले चाहने र देशले आवश्यक ठानेमा जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताए । प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा आफुले प्रधानमन्त्रीका रुपमा गरेको प्रयास र लगानी जुटाउने कोशिसको स्मरण गरे । उनले प्रधानमन्त्री भए पनि नभए पनि परियोजनाप्रति आफ्नो जिम्मेवारी कायमै रहने बताउँदै भने- 'म जुनसुकै जिम्मेवारीमा रहे पनि यो परियोजना अघि बढाउन म निरन्तर लागि पर्छु ।'  

५- कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एउटै चुनाव चिह्नमा चुनाव लड्न सहमत भएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर एकै चुनाव चिह्नमा चुनाव लड्ने घोषणा गरेका हुन् । बुधबार निर्वाचन आयोगमा दुवै दलले एकै चुनाव चिन्हबाट चुनाव लड्ने संयुक्त रूपमा निवेदन दिएका छन् । हाम्रो पार्टी नेपालका अध्यक्ष सुनारले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बलेको चिम बाटै चुनाव लड्ने सहमति भएको बताए । आफुहरु कुलमानले देखेको सपनालाई साथ दिन एकसाथ आएको सुनारले बताए । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल दुवै नयाँ दल फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा पहिलोपटक सहभागिता जनाउँदैछन् । 

६- अभिनेता अनूप विक्रम शाहीको बलिवुड डेभ्यु फिल्म 'ब्याटल अफ गलवान' को शुटिंग सकिएको छ । बलिवुड सुपरस्टार सलमान खानको फिल्ममा डेभ्यु गर्न लागेका शाहीले सलमान खानसँगको तस्बीर सार्बजनिक गर्दै फिल्मको शुटिंग सकिएको जानकारी दिएका हुन् । उनले भनेका छन्- 'ब्याटल अफ गलवान' को काम सकिएको छ ! उनलाई पर्दामा हेर्दै हुर्किएदेखि लिएर दिग्गज र मैले भेटेका सबैभन्दा दयालु आत्माहरू मध्ये एकसँग काम गर्दा जीवन साँच्चै पूर्ण चक्रमा आयो र मेरो भित्री बच्चा यो भन्दा खुसी हुन सक्दैन । यो अविस्मरणीय अध्याय र उनको प्रतिभा मात्र होइन, उनको हृदय पनि हेर्ने मौकाको लागि आभारी छु ।' शाहीले फिल्ममा आफ्नो भूमिकाका विषयमा भने जानकारी गराएका छैनन् । २०२६ मा रिलिज हुने भनिएको यो फिल्ममा सलमान आर्मी अफिसरको भूमिकामा रहेका छन् । फिल्म २०२० को जुन १५ मा भारत र चिनियाँ सेनाबीच गलवानमा भएको झडपको विषयमा बनाइएको छ ।

७- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ भएको छ  । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए नेपाल) ले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ गरको हो । शुभारम्भ कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, अमेरिकी राजदूत डिन आर. थम्पसन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को र एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट सहभागी थिए । नेपालका प्रमुख ऊर्जा पूर्वाधारको निर्माण र नेपालमा विद्युत प्रशारण क्षमता र क्षेत्रीय सञ्जाल सुदृढ बनाउन अमेरिका र नेपाल दुवै सरकार एमसीसी नेपाल कम्प्याक्ट समयमै सम्पन्न गर्ने प्रतिबद्ध रहेको देखिएको छ । यस सबस्टेशनको निर्माण कार्यले नेपाल-भारतबीच ऊर्जा व्यापारलाई अझ विस्तार गर्नेछ र क्षेत्रीय आर्थिक वृद्धिमा सहयोग गर्ने भएको छ । अमेरिकी राजदूत थम्पसनले यो परियोजना नेपाल र अमेरिका बीचको बलियो साझेदारीको प्रमाण भएको र दुवै देशले साझा समृद्ध भविष्यको दृष्टिकोण राखेको बताए । उनले अमेरिका नेपाललाई भरपर्दो ऊर्जा प्रणाली निर्माण, क्षेत्रीय व्यापार विस्तार, र नेपाली जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सहकार्य गर्न प्रतिबद्ध रहेको सो अवसरमा बताएका थिए । 

८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले छनोट समितका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान, सदस्यहरु प्रा.डा. मोतिलाल शर्मा, प्रा.डा.मेघराज पोख्रेल र तत्कालीन सह-परीक्षा नियन्त्रक (सह-प्राध्यापक) डिल्लीराम प्रसाई उपर गलत प्रतिवेदन, परीक्षाको परिणाम फेरबदल र नपाएको ओहदा दिएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । सह-परीक्षा नियन्त्रकमा प्रसाईलाई नियुक्ति दिदा गलत प्रतिवेदन, परीक्षाको परिणाम फेरबदल र नपाएको ओहदा दिएको अख्तियारको आरोप छ । अख्तियारले चारै जनाविरुद्ध कानुन बमोजिमको जरिवाना र सजायको माग गर्दै मुद्धा दायर गरेको बताएको छ ।

९- नेपाली काँग्रेसका विशेष महाधिवेशनका पक्षधरहरुले आज काठमाडौँमा विशेष भेला गरेका  छन् । कांग्रेसको विशेष महाधिवेशन बोलाउन दबाब दिने उदेश्यले गरिएको भेलामा केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूको उपस्थिति रहेका छन् । राष्ट्रिय सभागृहमा भएको भेलामा तारामान गुरूङसहित केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी र लुम्बिनी-गण्डकी प्रदेश सभापतिहरू अम्मरसिंह पुन, शुक्रराज शर्मालगायत सहभागी भएका छन् । सभामा नेता गुरूराज घिमिरे ले डेढ महिनासम्म महाधिवेशन कार्यतालिका नआएको भन्दै विधानअनुसार विशेष महाधिवेशनको माग गरेका छन् । काँग्रेसमा विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २८ गते नै बुझाएका थिए । काँग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेमा ३ महिना भित्रका विशेष महाधिवेशन बोलाउनु पर्ने वैधानिक व्यवस्था रहेको छ । र तीन महिनाको समय पुस २८ गतेसम्म रहेको छ । बहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको माग बमोजिम महाधिवेशन गर्न काँग्रेस केन्द्रीय समितिले निर्णय गर्नुपर्ने उनीहरूको माग रहेपनि काँग्रेसका सभापति शेर बहादुर देउवासहितका नेताहरु फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने पक्षमा देखिएका छैनन् ।

१०- नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ९.६१ अंकले बढेर २६६५.६०  विन्दुमा पुगेर रोकिएको छ । आज ३२२ कम्पनिका एक करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी र स्वस्तिक लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज बोटलर्स नेपालको शेयर ३.९६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ६२ करोड ४३ लाखको कारोबार भएको छ भने शिभम सिमेन्टको २६ करोड ७५ लाख बराबर कारोबार भएको छ ।

११-  बंगलादेशमा शेख हसिनाको लकरबाट ८३२ तोला (लगभग ९ किलो) सुनका गहना बरामद गरिएको छ । यी गहनाहरू दुई एग्रिन बैंकका लकरहरूमा राखिएको मिडिया रिपोर्टमा उल्लेख छ । शेख हसिना देश छोडेपछि यी गहना जफत गरिएको थियो । अदालतको अनुमतिपछि, मंगलबार मजिस्ट्रेटको उपस्थितिमा लकरहरू खोलिएको थियो । बङ्गाली अखबार प्रथम आलोका अनुसार, बंगलादेश भ्रष्टाचार विरोधी आयोग (एसीसी) ले शेख हसिना विरुद्ध नयाँ भ्रष्टाचार र असमान सम्पत्तिको आरोप लगाउने तयारी गरिरहेको छ । उनलाई आफ्नो सम्पत्ति लुकाएको र कर छली गरेको आरोप लगाइने बताइएको छ । राष्ट्रिय राजस्व बोर्डले हाल शेख हसिनाविरुद्ध कर छलीको आरोपको अनुसन्धान गरिरहेको छ । भ्रष्टाचार विरोधी आयोगले शेख हसिना र उनको परिवारले गैरकानूनी तरिकाले सम्पत्ति जम्मा गरेको छ कि छैन भनेर पनि अनुसन्धान गरिरहेको छ । एसीसीको निवेदनपछि, अदालतले शेख हसिना, उनका छोरा सजीब वाजेद जोय, उनकी छोरी साइमा वाजेद पुतुल, उनकी बहिनी शेख रिहाना र अन्य सम्बन्धित व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने आदेश दिएको छ ।

१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशका सबै इन्चार्जलाई पदमुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जको भूमिकामा रहेका सचिवालय सदस्यहरूलाई इन्चार्जबाट हटाएर अब केन्द्रीय सदस्यहरूलाई प्रदेश इन्चार्जको भूमिका दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । नयाँ प्रदेश इन्चार्जको जिम्मेवारी भने तोकिएको छैन । रास्वपाले गत वैशाखमा कोशीमा सन्तोष परियार, मधेशमा मनिष झा, बागमतीमा निमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपीन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई प्रदेश इन्चार्ज तोकेको थियो । यीमध्ये कोशी प्रदेश इन्चार्ज रहेका परियारले रास्वपा परित्याग गरिसकेका छन् । त्यस्तै रास्वपाले आगामी निर्वाचनलक्षित सबै पालिकामा र्‍यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरेको छ ।

१३- थाइल्याण्डमा भारी वर्षाका कारण धेरै शहर र नगरहरूमा ठूलो बाढी आएको छ । अहिलेसम्म बाढीबाट १८ जनाको मृत्यु भएको छ र उद्धार र राहत कार्यका लागि डुङ्गा र हेलिकप्टर प्रयोग गरिएको सरकारले जानकारी दिएको छ । गत हप्ता देशको दक्षिणमा रहेका दश प्रान्तहरूमा बाढी आएको थियो भने मलेसियासँग सीमा जोडिएको व्यापारिक केन्द्र हात याईमा एकै दिनमा ३३५ मिमी वर्षा भएको रेकर्ड गरिएको थियो, जुन ३०० वर्षमा सबैभन्दा बढी हो । बाढी प्रभावित क्षेत्रका तस्बिरहरूले शहरमा डुबेका सवारी साधन र घरहरू देखिएका छन्, जहाँ पीडित बासिन्दाहरू राहत र उद्धारको लागि आफ्नो छतमा पर्खिरहेका छन् । छिमेकी देशहरूमा पनि निरन्तर वर्षाले विनाश निम्त्याएको छ । भियतनाममा, एक हप्तामा मृत्यु हुनेको संख्या ९८ पुगेको छ, जबकि मलेसियामा १९ हजारभन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् । थाइल्याण्डमा बाढीबाट २० लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । धेरैजसो मानिसहरू एक्लै छन् र मद्दत पाउन कठिनाइ भइरहेको बताएका छन् ।

१४-  भारतले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । दक्षिण अफ्रिकाले गुवाहाटी टेस्ट ४०८ रनले जित्दै दुई खेलको टेस्ट सिरिज भारतविरुद्ध २-० ले क्लीन स्वीप गरेको छ । दक्षिण अफ्रिकाले कोलकाता टेस्ट ३० रनले जितेको थियो भने गुवाहाटी टेस्ट ४०८ रनले जितेको छ । दक्षिण अफ्रिकाले ५४९ रनको लक्ष्य दिएकोमा भारत १४० रनमा अल आउट भएको थियो । यो टेस्ट क्रिकेटमा र घरेलु मैदानमा रन अन्तरको हिसाबले भारतको सबैभन्दा ठूलो हार हो । यसअघि २००४ मा अस्ट्रेलियासँग नागपुरमा ३४२ रनले हार बेहोरेको थियो । भारतले पछिल्लो १३ महिनामा योसहित दोस्रो पटक घरेलु मैदानमा टेस्ट सिरिजमा क्लिन स्वीपसहित हार बेहोरेको छ । यसअघि, अक्टोबर-नोभेम्बर २०२४ मा न्युजिल्यान्डले तीन खेलको टेस्ट सिरिजमा भारतलाई ३-० ले पराजित गरेको थियो । यो हार विश्व टेस्ट च्याम्पियनसिपको दृष्टिकोणबाट भारतको आशामा धक्काको रुपमा हेरिएको छ । दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङमा ४८९ रन बनाएको थियो। जवाफमा, भारतको पहिलो इनिङ २०१ रनमा समेटिएको थियो । यस टेस्टमा भारतका नियमित कप्तान शुभमन गिल इन्जुरिका कारण खेलेका थिएनन् ।

१५-  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएको अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा लेख्दै उपमहासचिव ज्ञवालीले राजनीतिक उद्देश्य सहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।  उनले भनेका छन्: 'कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो/देखियो । एउटा राजनीतिक उद्देश्य सहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ । त्यसमाथि, माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य माननीय प्रमुख आयुक्तलाई थाहै हुनु पर्ने हो । भलै संविधान सभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुबैको दुरुपयोगका अनेकौँ घटना घटित भए ।' संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन ।

१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ९ सयले बढेर तोलाको २ लाख ४८ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ४७ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३२२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३२०० मा कारोबार भएको थियो ।

१७- शिक्षामन्त्री महावीर पुनले सिंहदरवार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरुले नबुझेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले अहिलेको परिस्थितिमा सिंहदरवार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरुले नबुझेको भन्दै अहिलको युवा पुस्तासहित भावी पुस्ताहरुको भविष्य उज्ववल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरुलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु भएको बताएका छन् । उनले भनेका छन्: अहिलेको परिस्थितिमा सिंहदरवार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरुले खोइ त बुझेको ? अहिलको युवा पुस्तासहित भावी पुस्ताहरुको भविष्य उज्ववल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरुलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो । बुढा नेताहरु लोभीपापी र स्वार्थी समुहहरुले घेरिएका रहेछन्, जसले देशको संयन्त्रहरु बर्बाद गरिरहेका छन् । अनि देश कसरी बन्छ ? कि त अन्तिम उपाय भनेको पुर्ण क्रान्ति हो ।

१८- ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई ब्राजिलको सर्वोच्च अदालतले २७ वर्षको जेल सजाय सुनाएको छ । ७० बर्षिय पूर्वराष्ट्रपति बोल्सोनारोमाथि २०२२ को राष्ट्रपति चुनाव हारे पनि सत्तामा रहन वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको सरकारलाई उल्ट्याउने षड्यन्त्र रचेको आरोपमा सो सजाय सुनाइएको हो । सुनुवाइको क्रममा, बोल्सोनारोको कानुनी टोलीले अदालतको निर्णयविरुद्ध अन्तिम अपील दायर गरेनन्, त्यसपछि न्यायाधीश मोरेसले फैसलालाई अन्तिम घोषणा गर्दै पूर्ण २७ वर्षको सजाय तोक्न आदेश दिए । ब्राजिलका सरकारी वकिलहरूले चुनाव हारेपछि सत्ता कायम राख्न बोल्सोनारोले सर्वोच्च अदालतमाथि आक्रमणको षड्यन्त्र रचेको आरोप लगाएका छन् । राष्ट्रपति लुला दा सिल्भा र न्यायाधीश डे मोरैसको हत्याको योजना बनाएको, सैन्य विद्रोह मार्फत चुनावी नतिजा उल्ट्याउने प्रयास गरेको आरोप छ ।  अगस्टमा, सर्वोच्च अदालतले बोल्सोनारोलाई घरमै नजरबन्दमा राख्न आदेश दिएको थियो । बोल्सोनारोलाई इलेक्ट्रोनिक एंकल मनिटर लगाइएको थियो र उनको घरबाट सबै मोबाइल फोनहरू जफत गरिएको थियो । बोल्सोनारोलाई घरमै नजरबन्दमा राख्दा इलेक्ट्रोनिक एंकल मनिटरलाई क्षति पुर्‍याएको पनि आरोप छ । अदालतले उनले भाग्ने प्रयासमा सोल्डरिङ फलामले उपकरण जलाउने प्रयास गरेको बताएको छ । अदालतले जारी गरेको भिडियोमा, मनिटर जलेको र क्षतिग्रस्त देखिएको थियो। यद्यपि, यो अझै पनि बोल्सोनारोको खुट्टामा बाँधिएको थियो। फुटेजमा, बोल्सोनारोले उपकरणमा उपकरण प्रयोग गरेको स्वीकार गरेका थिए ।

१९- आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्बजनिक भएको छ ।  आइसीसीले मंगलबार सार्बजनिक गरेको खेल तालिकामा नेपाल समुह सी मा परेको छ । नेपालको समुहमा इङल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् । नेपालका विश्वकपका सबै खेल भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा हुने भएका छन् ।  नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने दोस्रो खेल इटालीविरुद्ध फेब्रुअरी १२ मा खेल्ने तालिका रहेको छ ।  त्यस्तै तेस्रो खेलफेब्रुअरी १५ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने छ भने चौथो खेल फेब्रुअरी १७ मा बंगलादेशविरुद्ध खेल्ने छ ।  विश्वकपका समुह : समूह ए: भारत, पाकिस्तान, अमेरिका, नेदरल्याण्ड्स र नामिबिया । समूह बी: श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड, जिम्बाब्वे र ओमान । समूह सी: इङ्गल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, नेपाल र इटाली । समूह डी: न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई । २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने यो टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरिरहेका छन् । यस विश्वकपमा कुल २० देशले खेल्दैछन् ।

२०-  युइएफए च्याम्पियन्स लिग अन्तर्गत चेल्सीले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा एस्टेभाओ र लियाम डेलेपले एक एक गोल गरेका थिए भने बार्सिलोनाका जुलेस कुण्डेले एक आत्मघाती गोल गरेका थिए । यस खेलमा रोनाल्ड अराउजोले खेलको ४४औं मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि चेल्सीको ५ खेलमा १० अंक भएको छ र हाल पाँचौं स्थानमा रहेको छ । त्यस्तै बार्सिलोनाको भने यस सिजनको च्याम्पियन्स लिगमा यो दोस्रो हार हो । बार्सिलोनाको ५ खेलमा ७ अंक रहेको छ र हाल १५औं स्थानमा रहेको छ ।

बुधबार ११ मंसिर २०८२ ०८:३६ PM मा प्रकाशित

प्रतिक्रिया