×

पशुपतिमा राखिएको सुनको जलहरीमा भेटियो सुन कम

images

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिमा राखिएको सुनको जलहरी जोखेको छ। आइतबार दिउँसो जलहरी जोख्न पशुपतिनाथ पुुगेको अख्तियारको टोलीले सोमबार बिहान २ बजेसम्म लगाएर जलहरी जोखेको हो। सुनको जलहरी नाप जाँचमा खटिएको टोली जहलहरीमा आधा केजी सुन कम पाईएको छ । जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो (आईतबार) जलहरीको नापजाँच गरेको थियो । पशुपतिको जलहरीमा कूल एक सय सात केजी ९५३ ग्राम सुन हुनुपर्नेमा आधा केजी सुन कम पाइएको हो ।

आइतबार टोलीले तौल गर्दा जलहरीको १०६.४३२५ केजी मापन गरिएको थियो भने जलहरी कस्न बनाइएको किलाकाँटीको मापन गर्दा १.०३७५ किलो भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकृतका अनुसार हाल मापन गरिएको जलहरी र किलाकाँटीमा कति सुन, तामा र पित्तल प्रयोग भयो भनेर छुट्याउन अझै दुई दिन लाग्ने छ । ती अधिकृतका अनुसार बाहिर हल्ला चलेजस्तो ठुलो परिमाणमा सुनमा अनियमितता भएको भने होइन । 

 ‘सबैको रोहबरमा नाप जाँच गरियो, सुन, तामा र पित्त छुट्याउन बाँकी छ । तर, अनियमितता नै गरेको भनेर भन्न नसकिने निष्कर्षमा हामी पुगेका छौँ ।’ जलहरी नाप जाँचमा खटिएका एक सदस्यले भने ।  तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिर पुगेर ‘सङ्कल्प पूजा’ गरेर करिब एक अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए ।

सुनको जलहरी राख्न ओलीले सरकारका तर्फबाट ३० करोड दिने घोषणा गरेका थिए । कोषले सरकारबाट प्राप्त हुने रकममा ५० करोड ११ हजार थपेर करिब ८० करोड लागतमा १०८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो । जलहरी निर्माणका क्रममा २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउने र त्यसमा ३ प्रतिशत तामासँगै एक प्रतिशत चाँदी मिसाइएको कोषले जनाएको छ ।

पशुपतिको जलहरीको नापजाँचमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू पनि आयोगको टोलीमा संलग्न रहेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिमा सुनको जलहरी राख्दा अनियमितता भएको कुरा केही समय अगाडि संसदमा उठेको थियो ।

सोमबार ११ असार २०८० ०१:५४ PM मा प्रकाशित

प्रतिक्रिया