×

मन्दिर पुगेर अख्तियारले जोख्यो जलहरी

images

काठमाडौं । पशुपतिनाथ मन्दिरको गर्भगृहमा तीन वर्षअगाडि राखिएको सुनको जलहरीमा अनियमितता भएरनभएको विषयमा छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले आइतबार मन्दिर पुगेर जलहरी नापजाँच गरेको छ। अख्तियारको टोलीले गर्भगृहबाट जलहरी निकालेर नापजाँच गरेको हो।

नापजाँचका लागि गर्भगृहबाट टुक्राटुक्रा पारेर जलहरी बाहिर निकालिएको थियो। गर्भगृहबाट बाहिर निकाल्दा जलहरीलाई सेतो कपडामा बेरिएको थियो। मन्दिर परिसरमा राखेर जलहरीको नापजाँच गरिएको हो। जलहरी गर्भगृहबाट बाहिर निकाल्नुअघि पशुपतिका पुजारीले मन्दिरमा पूजा गरेका थिए।

नियमित सन्ध्याकालीन आरती सकिएलगत्तै साँझ ६ बजेदेखि अख्तियारको टोलीले जलहरीको नापजाँच गर्न सुरु गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। उनका अनुसार टोली आएपछि पशुपतिमा नियमित गरिने सन्ध्याकालीन आरती केही समयअगाडि सारिएको थियो। अख्तियारको टोली पुगेलगत्तै सर्वसाधारणलाई पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको थियो। अख्तियारको टोलीले शुक्रबार नै कोषलाई चिठी लेखेर जलहरीको तौल नाप्न आइतबार पशुपति आउन लागेको जानकारी गराएको थियो।

अख्तियारको टोलीले जलहरी नापजाँज गर्दा कोषका सदस्यसचिव मिलन थापा र कार्यकारी निर्देशक घनश्याम खतिवडालाई पनि बोलाएको थियो। पशुपति क्षेत्र विकास कोषका अन्य कर्मचारीलाई भने मन्दिर परिसमा जान निषेध गरिएको थियो।

अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिसमेत सहभागी थिए। कोषका प्रवक्ता अधिकारीका अनुसार सन्ध्याकालीन आरती सकिएलगत्तै अख्तियारको टोलीले जलहरीका विभिन्न लेयर ९भाग० निकालेर नापजाँच गरेको हो। जलहरीमा लगाएको पेटी र रिङसमेत नापजाँच गरिएको अधिकारीले बताए। नाग आकारमा बनाइएको सुनको गुणस्तरको पनि नापजाँच गरिएको छ।

स्रोतका अनुसार अख्तियारको टोलीले जलहरीको तौल नाप्नुअघि सुनमा मिसावट भएरनभएको विषयमा परीक्षण गरेको थियो।

जलहरीको नापजाँचका लागि अख्यिारको निर्देशनमा कोषले शुक्रबार ६ वटा सिसिटिभी मेसिन जडान गरेको थियो। यसैगरी डिजिटल नापतौल मेसिन पनि खरिद गरिएको छ। जलहरी नापजाँच गर्नुअघि नापतौल विभागले नापतौल मेसिनको गुणस्तर परीक्षण गरेको थियो।

विभागले मेसिनको गुणस्तर सही भएको प्रमाणित गरेपछि अख्तियार टोलीले जलहरी नापजाँच गरेको थियो। जलहरी नापजाँचको सुरक्षा र सहजीकरण नेपाली सेनाले गरिरहेको छ। स्रोतका अनुसार सिसिटिभी मेसिनको निगरानीमा अख्तियारको टोलीले नापजाँच गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालले अख्तियारको एउटा टोली पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीको नापजाँच गर्न आइतबार त्यहाँ गएको जानकारी दिँदै भने, ‘अनुसन्धान भइरहेको छ। सुन पुगे÷नपुगेको विषयमा अहिले भन्न मिल्दैन।’

सुनको जलहरीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले नापजाँच गरेको हो। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा जलहरीमा अनियमितता भएको उल्लेख छ। यो विषय अख्तियारमा पुगेपछि उसले छानबिन थालेको हो। ‘पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरिएको छ। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२।७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४।७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ प्रतिवेदनमा लेखिएको छ।

प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ। रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ रूपैयाँ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरिएको छैन।’

कोषका पदाधिकारीले पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा १०८ किलोग्राम सुन प्रयोग भएको जनाएका छन्। तर जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग गरी बाँकी गायब बनाएको आरोप कोषका पदाधिकारीमाथि लागेको छ। नागरिक दैनिकबाट

सोमबार ११ असार २०८० ०८:३८ AM मा प्रकाशित

प्रतिक्रिया