काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित गराएर प्रश्नोत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसद्मा ल्याउने र प्रश्नोत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएका हुन् ।
विपक्षी दलहरूले संसद् नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुनैपर्ने अडान लिइरहेका छन् । संसद् नियमावलीमा संसद् सञ्चालन रहेको अवस्थामा पहिलो साता प्रधानमन्त्री र सांसदहरूबिच प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ ।
विपक्षीहरुले सोही माग राखेर संसद् अवरुद्ध गर्दै आएका छन् । केही दिनअघि चार विपक्षी दलका प्रमुख सचेतकको अनौपचारिक बैठकले प्रधानमन्त्री नआए आजको बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिएका थिए । बिहान ११ बजेदेखि सुरु भएको संसद् बैठक अहिले जारी छ ।
आकस्मिक समय, विशेष समय र शून्य समयको कार्यक्रम सकिँदासम्म प्रधानमन्त्री प्रश्नोत्तरमा आउने जानकारी सत्तापक्षले नदिए आजको बैठक पनि अवरुद्ध गर्ने तयारीमा आफूहरू रहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । विपक्षी दलले जेठ १५ मा अर्थमन्त्रीले सङ्घीय संसद् बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट सबै सांसदले शान्तिपूर्वक सुन्ने वातावरण बनाउन सत्तापक्षलाई आग्रह गरेका छन् । विपक्षीले प्रधानमन्त्री कहिले संसद्मा आउँछन् भन्नेबारे मिति तोक्न समेत माग गरे ।
रास्वपा प्रमुख सचेतक बुर्लाकोटीले छिट्टै ल्याउने प्रतिबद्धता जनाए पनि मिति भने तोक्न सकेनन् । दुलालले भने, ‘रास्वपा प्रमुख सचेतकले आजै दुई घण्टाभित्र सरकारसँग कुरा गरेर जवाफ दिने बताउनुभएको छ । यही मितिमा प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि ल्याउँछु भन्न सक्नुभएन । खाली हामी ल्याउँछौँ भन्नुहुन्छ। तर, समय तोक्न सक्नुहुन्न ।’
प्रतिक्रिया