×

‘एमालेले स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाएको छ’

images

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सधैँ स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको बताउनुभएको छ । नेकपा एमाले, सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले नागरिकलाई राष्ट्रिय स्वाधीनताको विषय सबैभन्दा प्रिय भएको र एमालेले सधैँ राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षामा लागेको बताउनुभयो । 

नेपालमा छ दशक समय राजनीतिक लडाइँमा र अधिकार प्राप्तिमा लाग्दैमा बितेको र अहिले त्यो अवस्था नभएको महासचिव पोखरेलले बताउनुभयो । भारत र चीन दुवै छिमेकी देशहरु नेपालसँग रेललगायतका पूर्वाधारमा सहकार्य गर्न चाहेको उहाँको भनाइ छ । भारतले भारतीय रेल वीरगञ्ज हुँदै काठमाडौँ र चीनले केरुङबाट काठमाडौँ हुँदै लुम्बिनीसम्म रेल यातायातको विस्तारमा चासो देखाएको उहाँले बताउनुभयो । अहिले समयससँगै स्वाधीनताको सोच बदलिएको र यसले माटोको रक्षा मात्रै होइन आकाशको अधिकार पनि हो भन्ने धारणा रहेको उहाँले बताउनुभयो । 

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुवै छिमेकी देशसँगको सम्बन्ध सुमधुर बनाएको उहाँको भनाइ छ । भारतसँग सम्बन्धमा रहेका समस्या सुल्झाएको र चीनसँगको सम्बन्ध विस्तार गरिएको उहाँको भनाइ छ । पार्टी नेतृत्वको सरकारले पेट्रोलियम पदार्र्थ ढुवानीका लागि पाइपलाइन र विद्युत् भार कटौती हटाउन पहल गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विगतदेखि नै रहेको डुबानको समस्या अध्ययन गरेर समाधान अघि बढाइएको थियो ।”

मङ्गलबार १३ बैशाख २०७९ ०९:५१ PM मा प्रकाशित

प्रतिक्रिया