×

रास्वपाको बैठक बस्दै, बालेन शाहलाई पार्टीको संसदीय दलको नेता चयन गर्ने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीयसमिति बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो ।

बैठकमा संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ । रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साहलाई नेता चयन गर्ने बताइएको छ ।

आजको बैठकबाट संसदीय दलको नेता चयन भएपछि शुक्रबार बालेन प्रधानमन्त्री बन्नेछन् । उनको शपथको समय पनि तोकिसकिएको छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री घोषणा गरेको थियो । रास्वपा र बालेनबीच भएको सहमतिमा पनि उनलाई भावी प्रधानमन्त्री बनाउने उल्लेख थियो । 

त्यसपछि दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालय पठाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलका नेतालाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । शुक्रबार दिउँसो १२ः३४ बजे राष्ट्रपति पौडेलले बालेन्द्रलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन गरिनेछ । १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिनेछ प्रधानमन्त्रीसँगै शीतलनिवासमा मन्त्रीहरूले पनि शपथ लिनेछन् । शपथपछि बालेनले २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद बहाली गर्ने कार्यतालिका छ ।

बिहीबार १२ चैत २०८२ ११:११ AM मा प्रकाशित

प्रतिक्रिया