×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- कार्तिकसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड पुगेको छ । सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको कार्तिक मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७५ अर्ब ९६ करोड र बाहृय १४ खर्ब ५३ अर्ब ४५ करोड रहेको छ । गत असार मसान्तको तुलनामा कार्तिक मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । यो सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.६९ प्रतिशत हो । चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा चार महिनामा एक खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा  कुल सार्बजनिक ऋण प्राप्ति २३.२९ प्रतिशत रहेको छ । गएको चार महिनामा १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ५० अर्ब ८८ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये १ खर्ब २७ अर्ब ६१ करोड साँवा र बाँकी २३ अर्ब २७ करोड रुपैयाँ ब्याजका लागि खर्च भएको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक ऋणको ब्याज भुक्तानीमा प्रयोग भएको रकम चालु खर्चमा समावेश गरिन्छ । यसकारण उक्त अवधिमा उठाइएको १ खर्ब ३८ अर्ब ७५ करोड रकममा साँवा भुक्तानीमा खर्च भएको १ खर्ब २७ अर्ब ६१ करोड घटाइन्छ । त्यसरी आउने रकममा विदेशी मुद्राको विनिमय दरमा परिवर्तन आउँदा भएको ४४ अर्ब २२ करोड जोड्दा गएको दुई महिनामा ५५ अर्ब ३६ करोड सार्वजनिक ऋण थपिएको छ ।

२- एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत नेपालले विजयी शुरुवात गरेको छ । नेपालले साउदी अरेबियालाई ९ विकेटले पराजित गरेको हो । साउदी अरेबियाले दिएको २१९ रनको लक्ष्य पछाएको नेपालले ३०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि निरज कुमार यादवले ११४ रनको शतकीय पारी खेलेका थिए भने निश्चल क्षेत्रीले अविजित ६६ त् वंश क्षेत्रीले ३० रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको थियो । साउदी अरेबियाका लागि मोहमद जुबेर सुनासाराले ४८, मोहमद रेहान सिद्धिकीले ४१ रन बनाए भने ओमैर अहमद वहावले ३९ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर अशोक धामीले २ विकेट लिए भने दयानन्द मण्डल, शुसिल बहादुर रावल, किब्रिन श्रेष्ठ र दर्शन सुनारले एक एक विकेट लिएका थिए । अब नेपालले अर्को खेल हङकङविरुद्ध नोभेम्बर २७ मा खेल्दैछ ।

३- नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो महिला टी-२० विश्वकप २०२५ - दृष्टिविहीन क्रिकेटमा उपविजेता भएको नेपाली टिमलाई १० लाख नगद दिएको छ । मंगलबार टियु क्रिकेट मैदानमा नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई सम्मान गर्दै क्यानले १० लाख रकम हस्तान्तरण गरेको हो । सो अवसरमा आजको एनपीएल खेल्ने टिम लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजका खेलाडी र प्रशिक्षण टिमले समेत नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई भेटेर बधाई दिएका थिए । नेपाली दृष्टिविहीन महिला क्रिकेट टिम श्रीलंकाको कोलम्बोमा भएको फाइनल खेलमा भारतसँग पराजित हुदै उपविजेता बनेको थियो ।

४- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै पोखरेलले पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका साथीहरूले गरेको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उल्लेख गरेका छन् । उनले पार्टीका नेताहरुको योग्यता, क्षमता र रूचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न आफु प्रतिबद्ध रहेको समेत बताएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावकको भूमिकामा बसेर सहज निकास दिन समेत आग्रह गरेका छन् । उनले भनेका छन्- 'पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु ।'  त्यस्तै पोखरेलले आफु अध्यक्ष भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किने वातावरण बनाउने समेत उल्लेख गरेका छन् । उनले भनेका छन्- चार दशकभन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालीसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्केर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो। पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा–हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वन्चित गरिदा पार्टीलाई वैचारिक रूपमा थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ, उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।' एमालेको ११औं केन्द्रीय महाधिवेशन यहि मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा हुदैछ ।

५- १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । दुवै जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले दुवै आयोजनाको वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिंदै त्यसलाई आवश्यक स्वीकृतिका लागि पेश गर्न निर्देशन दिएक छन् ।उनले दुवै आयोजना लामो समयदेखि चर्चामा मात्र रहेकाले अब लगानी मोडालिटी टुंगो लगाएर निर्माणमा लैजानु पर्ने बताए । नेपाल विद्युत प्राधिकरणको शेयर निश्कासन गर्ने, ऊर्जा वण्ड जारी गर्ने, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट सङ्कलित रकम, वैदेशिक रोजगारीमा रहेका तथा गैह्र आवासीय नेपाली र आमसर्वसाधारणलाई सेयर निश्कासन गरी आयोजनामा लगानी जुटाउने प्रस्ताव गरिएको छ ।

६-  नेप्सेमा सामान्य वृद्धि भएको छ । मंगलबार नेप्से ५.३२ अंकले बढेर २५५५. ९९ विन्दुमा पुगेर रोकिएको छ । आज ३१९ कम्पनिका एक करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा कारोबार भएको थियो । आज विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज जोशी हाइड्रोको शेयर ४.९६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी बन्दीपुर केबलकारको २६ करोड ९९ लाखको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको २४ करोड ४ लाख बराबर कारोबार भएको छ ।

७- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले आयोगमा दल दर्ताको जानकारी दिदै यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट भएको भन्दै जिम्मेवार र प्रजातान्त्रिक दल भएकाले दल दर्ता गरेको जानकारी दिएका छन् ।  उनले भनेका छन्- 'यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट छौं। तथापि एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ ।'

८- नेपाली कांग्रेसका युवाहरूको संगठन नेपाल तरुण दलले देशैभर निर्वाचन केन्द्रीत कार्यक्रम गर्न जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंगलबार सबै जिल्ला समितिलाई परिपत्र जारी गर्दै निर्वाचन केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएका हुन् । परिपत्रमा सबै जिल्लामा  र्‍यालीलगायत मार्च पास गरी कोण सभा आयोजना गरी निर्धारित समयमै निर्वाचनको सुनिश्चितता गर्न सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउने र जिल्लास्थित नागरिक समाज, सुरक्षा अधिकारी, जेनजी युवा, निर्वाचन कार्यालयको अधिकारी, मतदातालगायतको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम गर्ने, तेस्रोमा कांग्रेसका स्थानीय नेताहरूको उपस्थितिमा जेनजी युवालाई व्यापक दल प्रवेश कार्यक्रम आयोजना गर्ने उल्लेख गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई शान्ति, अमन चयनको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र बुझाउने, मतदातालक्षित सचेतना कार्यक्रम आयोजना गर्ने, स्थानीय सरकारबाट हुने विकास कार्यक्रममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने विषय पनि परिपत्रमार्फत निर्देशन गरिएको छ ।  यस्तै तरुण दलको सदस्यता वितरण कार्यलाई तीव्रता दिँदै पाँचौँ महाधिवेशनको तयारीस्वरुप जिल्ला अधिवेशनको तयारी गर्ने र पूर्ण सदस्यता केन्द्रबाट स्वीकृत भइसकेपछि मात्र अधिवेशनको कार्यक्रम सुरु गर्न समेत निर्देशन दिइएको छ ।

९-  पाकिस्तानले फेरी एक पटक अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएको आरोप लगाएका छन् जसमा १० बालबालिका र महिलाको मृत्यु भएको छ । तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार र मंगलबार राति (लगभग १२ बजे) खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका छन् । उनले कुनार र पक्तियामा पनि हवाई आक्रमण गरिएको दाबी गरेका छन् जसमा कम्तीमा चार नागरिक घाइते भएका छन् । कुनार प्रान्तका स्थानीयहरूले गएराति अबेर मारावारा, असदाबाद र शेलितान क्षेत्रमा ठूलो विस्फोट सुनेको बताएका छन् । अफगानिस्तानले पाकिस्तानी सेनालाई आफ्नो सिमाना भित्र हवाई आक्रमण गरेको आरोप लगाएको यो पहिलो पटक होइन । गत महिनाको सुरुमा, अफगानिस्तानले पाकिस्तानलाई राजधानी काबुल सहित धेरै स्थानहरूमा हवाई आक्रमण गरेको आरोप लगाएको थियो । पाकिस्तानले अफगान सरकारका प्रवक्ताको आरोपको जवाफ दिएको छैन । विगतमा, पाकिस्तानले अफगानिस्तान भित्र धेरै स्थानहरूलाई लक्षित गरेको काबुलको आरोपलाई अस्वीकार गरेको छ । यद्यपि, गत महिना पाकिस्तानले अफगानिस्तान भित्रका केही सीमावर्ती क्षेत्रहरूमा आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको थियो । दुवै देशबीच भएको युद्धविराम सम्झौतापछि आक्रमण रोकिएकोमा फेरी आक्रमण शुरु भएको छ ।

१०- उपरथीमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो ।

११- प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेको नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । मंगलबार आयोग पुगेर पार्टीका निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय रहेकोमा अहिलेसम्म ६६ दल दर्ता भएका छन् । त्यस्तै निर्वाचन आयोगमा दर्ता दलको संख्या भने १३५ पुगेको छ ।

१२-  नेकपा एमाले प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । एमालेका तर्फबाट महेश बर्तौला र सुनिता बरालले सर्वोच्चमा रिट पेश गरेका हुन् । विघटित प्रतिनिधि सभाको एमाले संसदीय दलले बर्तौला र बराललाई सर्वोच्चमा रिट दायर गर्ने अख्तियारी प्रदान गरेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि नै १७ वटा रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् ।

१३- नेकपा एमाले दोलखाका पूर्वसचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिष्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपामा आएको बताए । उनका अनुसार, सबै कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिनु आजको आवश्यकता भएकोले आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका हुन् । दुलाललाई नेपाली कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्यका रूपमा मनोनयन गरिएको छ । मनोनयनपत्रमा एमालेमा दीर्घकालीन सक्रियता र नेतृत्वका आधारमा दुलाललाई केन्द्रीय समितिको जिम्मेवारी दिइएको उल्लेख छ । साथै, तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने पार्टीले अपेक्षा गरेको छ । दुलालको प्रवेशसँगै दोलखामा नेकपाको संगठनात्मक प्रभाव अझै सुदृढ हुने अपेक्षा गरिएको छ।

१४- भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुभारम्भ भएको छ । सुरक्षा गोष्ठीमा बिद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति, अपराध नियन्त्रण, सिमा सुरक्षा तथा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ लगायतका बिषयमा छलफल हुदैछ । गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा शुरु भएको गोष्ठीको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरेका छन् । गोष्ठीमा बिशेष अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य, अतिथि लुम्बिनी प्रदेश प्रमुख सचिव कृष्ण प्रसाद काप्री, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोक बहादुर सुनार, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू, सशस्त्र प्रहरी बल महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, नेपाली सेनाका बलाअधिकृत रथि प्रदिप जंग केसी, नेपाली सेना मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी प्रेम बहादुर पुन, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. राजेन्द्र प्रसाद भट्टसहित लुम्बिनी प्रदेश अन्तर्गत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार लगायत अन्दाजी १५० जनाको उपस्थिति रहेको छ ।

१५- कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित फिल्म २०८३ को बैशाख ११ गते प्रदर्शन हुने भएको छ । निर्माण पक्षले परालको आगोको क्यारेक्टर पोष्टर सार्बजनिक गर्दै प्रदर्शन मिति सार्बजनिक गरेको हो । फिल्मका निर्माता सुशील पोखरेल रहेका ह्चन भने फिल्ममा सौगात मल्लसहित प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठको भूमिका रहेको छ । फिल्म ‘परालको आगो’ पति–पत्नी चामे र गौँथलीबीचको वैवाहिक द्वन्द्वको कथा हो । फिल्ममा सुहाना थापाले गौँथलीको भूमिका निभाउनेछिन् । यो उनको पहिलो घरबाहिरको फिल्म हुने भएको छ । अर्कोतर्फ, प्रकाश सपुत चामेको भूमिकामा देखिनेछन् । लक्ष्मण सुनारको निर्देशनमा बन्ने यो फिल्मको छायांकन छिटै हुने निर्माण पक्षले जानकारी दिएको छ । सुशील देवकोटाको लेखन रहेको फिल्ममा संकल्प भुजेलले छायांकन गर्नेछन् । गीतमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ भने शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत हुनेछ । रामजी लामिछानेको नृत्य निर्देशन रहने फिल्म ‘परालको आगो’ मैनाली कथा पुरस्कार ट्रस्टको आधिकारिक अनुमति लिएर निर्माण हुन लागेको छ ।

१६-  इथियोपियामा हेले गुब्बी ज्वालामुखी विस्फोटनले भारतीय उड्डयन क्षेत्रलाई असर गरेको छ । एयर इन्डियाले ११ अन्तर्राष्ट्रिय र घरेलु उडानहरू रद्द गरेको छ । एयरलाइन्सले हेले गुब्बी ज्वालामुखी विस्फोट पछि केही क्षेत्रहरूमा उडान भरेका विमानहरूलाई सावधानीपूर्वक निगरानी गरिरहेको र एयर इन्डिया उडानहरू रद्द गरिएको जानकारी दिएको छ । एयर इन्डियाले यात्रुहरूलाई भएको असुविधाको लागि माफी मागेको छ र यात्रु र चालक दलको सुरक्षा यसको सर्वोच्च प्राथमिकता भएको बताएको छ । एयर इन्डियाले दिल्लीबाट न्युयोर्क जाने, दुबई जाने, दोहा जाने दम्माम जाने उडान रद्ध भएका छन् भने दिल्लीबाट चेन्नई, मुम्बई, कोलकोता जाने उडान रद्ध भएको जानकारी दिएको छ ।

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ५२ सयले बढेर तोलाको २ लाख ४७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले बढेर ३२०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३११५ मा कारोबार भएको थियो ।

१८-  इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बलका प्रमुख, लेफ्टिनेन्ट जनरल इयाल जामिरले अधिकारीहरूले अक्टोबर ७, २०२३ मा हमासको आक्रमण रोक्न असफल भएका कारण बर्खास्त गरिएको बताएका छन् । सुरक्षा कमजोरीको निष्पक्ष अनुसन्धान र हमासको आक्रमणको निष्पक्ष अनुसन्धानको माग गर्दै आइतबार इजरायलमा विरोध प्रदर्शनहरू भएका तिह्ये । यसले यी अधिकारीहरूलाई बर्खास्त गर्न सरकारमाथि दबाब बढाएको थियो । इजरायली सेना प्रमुख जामिरले यी अधिकारीहरूलाई बोलाएर उनीहरूको बर्खास्तको घोषणा गरेका थिए । बर्खास्त हुनेमा मेजर जनरल अहरोन हालिवा, मेजर जनरल ओदेद बसिउक, मेजर जनरल यारोन फिंकेलाम्यान, ब्रिगेडियर जनरलहरुमा एवी रोसेनफेल्ड, गिमेल र योसी सरियल, कर्णेल एरियल लुबोव्स्की, कर्णेल हाइम कोहेन, लेफ्टिनेन्ट कर्णेल अलेफ रहेका छन् । जामिरले विज्ञको अनुसन्धान प्रतिवेदनको आधारमा कमाण्डरहरूविरुद्ध थप निर्णय लिने बताएका छन् । यद्यपि धेरैजसो बर्खास्त गरिएका अधिकारीहरूले पहिले नै सेना छोडिसकेका छन् र कहिले मात्र आफ्नो कार्यकाल पूरा नभएसम्म आफ्नो वर्तमान पदहरूमा सेवा गरिरहनेछन् । निर्णयपछि, इजरायली सेनाको कर्मचारी संघले विज्ञप्ति जारी गर्दै यी निर्णयहरू लिनु सजिलो नभएको र देशको रक्षा गर्न आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका मानिसहरूलाई असर गर्ने बताएको छ । सेना प्रमुख जामिरले भने जवाफदेहीता स्थापित गर्न असफल भयौं भने, प्रणालीमा जनताको विश्वास घट्ने हुनाले कारवाही आवश्यक भएको बताएका छन् । बर्खास्त गरिएका अधिकारीहरू इजरायली सेनाका उत्कृष्ट कमाण्डरहरूमध्ये रहेको बताइएको छ ।

१९- इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड तफोर्डमै एभर्टनले १-० गोल अन्तरको रोमाञ्चक जित हासिल गरेको हो । एभर्टनको जितमा खेलको २९औं मिनेटमा कियरम्यान डेवसबरी हलले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यसअघि खेलको १३औं मिनेटमा नै इड्रीसा गुएयले रातो कार्ड पाए पछि एभर्टन १० खेलाडीमा सिमित रहेको थियो । यो जितपछि एभर्टनको १२ खेलमा १८ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर युनाईटेडको भने १२ खेलमा १८ अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ ।

२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भएको छ । फोन वार्तामा नेताहरूले युक्रेनको युद्ध, फेन्टानिल तस्करी र किसानहरूका लागि सम्झौताहरूबारे छलफल गरेका छन् । ट्रम्पले वार्ता बारे जानकारी दिदै भनेका छन्- 'हामीले हाम्रा किसानहरूका लागि राम्रो र धेरै महत्त्वपूर्ण सम्झौता गरेका छौं । यो राम्रो हुनेछ । चीनसँगको हाम्रो सम्बन्ध धेरै बलियो छ ।' साथै ट्रम्पले अप्रिलमा चीन भ्रमण गर्ने सीको निमन्त्रणा स्वीकार गरेको र वर्षको अन्त्यमा सीले अमेरिका भ्रमण गर्ने पनि बताए । चीनद्वारा जारी विज्ञप्तिमा सी जिनपिङले दोस्रो विश्वयुद्ध पछि ताइवानलाई अन्तर्राष्ट्रिय प्रणालीको अभिन्न अंग भनेका छन् । उनले युक्रेनमा दीर्घकालीन शान्तिको आशा राखेको उल्लेख छ । लामो समयदेखि, संयुक्त राज्य अमेरिकाले ताइवानको सार्वभौमिकताको पक्ष लिएको छैन, तर ताइवानमा बल प्रयोगको विरोध गर्दछ । ट्रम्प प्रशासनले हालै ताइवानलाई ३३० मिलियन डलरको हतियार बिक्रीलाई अनुमोदन गरेको छ, जसको बेइजिङले कडा विरोध गरेको थियो । ट्रम्पले सीसँगको कुराकानीमा फेन्टानिल, भटमास र अन्य कृषि उत्पादनहरूको बारेमा पनि छलफल भएको बताएका छन् । चिनियाँ विदेश मन्त्रालयले बुसान बैठक पछि दुई देशहरू बीचको सम्बन्धमा स्थिर र सकारात्मक प्रगति भएको बताएको छ, यद्यपि व्यापार वा भटमास खरिदमा ठोस सम्झौताको कुनै उल्लेख गरिएको छैन ।

 

मङ्गलबार १० मंसिर २०८२ ०७:१९ PM मा प्रकाशित

प्रतिक्रिया