×

रामेछाप पहिरो अपडेट : ६ जनाको मृत्यु, चारजना बेपत्ता

images

काठमाडौं ।  रामेछापको दोरम्बास्थित शैलुङ गाउँपालिका–३ मा शनिवार राति पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने अन्य चार हराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष,  ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो ।

११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । एक जनाको अवस्था गम्भीर छ । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

यसैबीच लेकखर्कमा गएको पहिरोले पाँचवटा घर बगाएको खबर प्राप्त हुनासाथ खटिएको आफ्नो टोलीले अन्य सुरक्षा निकाय र स्थानीयसँगको सहकार्यमा हराइरहेकाको खोजी कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ ।

आइतबार​ ९ भदौ २०८१ ११:४३ AM मा प्रकाशित

प्रतिक्रिया