×

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

images

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच आज कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माण एवं स्तरोन्नतिका विषयमा गृह मन्त्रालयमा छलफल भएको छ ।

विसं २०५६ यता बन्द रहेको मझगाउँ विमानस्थलको पुनःनिर्माण गरी चाँडो पुनः सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबीच छलफल भएको हो । उहाँहरुसँगै बैठकमा नागरिक उड्डयन प्राधिकरण, कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक इञ्जिनीयर बाबुराम पौडेललगायतको सहभागिता थियो । 

विमानस्थलको रन्वे निर्माण, टर्मिनल भवन निर्माण, विद्युत् विस्तारलगायतका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।  मझगाउँ विमानस्थलको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ मा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि रु पाँच करोड र रन्वे निर्माण गर्न रु १३ करोड ३० लाख बजेट सङ्घीय सरकारले विनियोजन गरेको छ । 

मझगाउँ विमानस्थलको दीर्घकालीन महत्व रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले पुनःनिर्माण र पुनःसञ्चालन गर्न अब ढिलाइ गर्न नहुने बताए । उनले भने- 'सङ्घीय सरकारले विमानस्थलका लागि उचित बजेट सम्बोधन गरेको छ । प्रदेश र स्थानीय सरकारले पनि विमानस्थल पुनःनिर्माणमा साझेदारी गरेका कारण काम दु्रतगतिमा अघि बढेको छ ।'

कञ्चनपुर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं गृहमन्त्री रमेश लेखककै पहलमा लामो समय गौचरनमा परिणत भएको मझगाउँ विमानस्थलले पुनःनिर्माणमा गति पाएको हो । गृहमन्त्री लेखकले भने- 'दक्षिणतर्फ नेपाली सेना र रत्न पाटिकाको जमिन विमानस्थलका लागि उपयोग गर्ने विषयमा विगतमा भएको विवाद समाधान भएर काम सुरु भइसकेको छ । विद्युत् विस्तार र सुरक्षा प्रबन्धका लागि पनि पहल भइसकेको छ ।'

केही दिनअघि विमानस्थलको स्थलगत निरीक्षण अवलोकनका लागि मझगाउँ पुगेका गृहमन्त्री लेखकले विमानस्थल पुनःनिर्माणमा कुनै समस्या नहुने बताएका थिए । एक हजार ५ सय २५ मिटरको रनवे निर्माण गर्ने क्रममा नेपाली सेनाले एक सय ५० मिटर जमिन विमानस्थल विस्तारका लागि उपलब्ध गराइसकेको छ । रन्वे निर्माण आगामी माघसम्म सक्ने गरी काम अघि बढेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार​ १० साउन २०८२ ०६:४७ PM मा प्रकाशित

प्रतिक्रिया