×

वार्ताका लागि मन्त्री भेट्न हिँडेका शिक्षक नेता सिंहदरबार परिसरबाटै फर्किए

images

 काठमाडौं । नवनियुक्त शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किएको छ । शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनतर शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । शिक्षक महासंघको टोली शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएको थियो । तर, मन्त्रालय नपुगी टोली फर्किएको हो ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जनाको टोलीलाई वार्ताका लागि सिंहदरबार प्रवेशका लागि सरकारले गेटपास तयार गरिदिएको थियो । महासंघका अध्यक्ष सुवेदीले आफूहरु वार्ता भन्दा पनि नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई बधाइ दिने प्रयोजनार्थ सिंहदरबार पुगेको तर कारणवस प्रवेश भने नगरेको बताएका छन् । उनले भनेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय नामावली ने शि महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं । आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’

शिक्षामन्त्री पन्तले विज्ञप्ति जारी गर्दै शिक्षकहरुलाई वार्तामा आउन आह्वन गरेका थिए । आफूहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षकहरु २४ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । शिक्षकहरु आन्दोलित हुँदा देशभरका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध भएको छ ।

यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो । शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा छन् ।

शुक्रबार​ १२ बैशाख २०८२ ०४:४८ PM मा प्रकाशित

प्रतिक्रिया