×

बैतडीमा  कतै गठबन्धन, कतै प्रतिस्प्रर्धा

images

स्थानीय तहको निर्वाचनका लागि बैतडीमा आज विभिन्न दलहरूले मनोनयन दर्ता गराएका छन् । यहाँका प्रमुख राजनीतिक दलहरूले कतै गठबन्धन गरेर मनोनयन दर्ता गरेका छन् भने कतै मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै मनोनयन गरेका छन् । नेकपा (एमाले) राप्रपासँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको छ ।

नेपाली कांग्रेसले जिल्लाका सबै १० वटै स्थानीय तहमा आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ । कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको प्रमुखमा गजेन्द्रसिंह रावल र उपप्रमुखमा कौशिला चन्दको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । यो नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका थिए । 

जिल्लाको पाटन नगरपालिकाको प्रमुखमा गौरीसिंह रावलको उम्मेदवारी दर्ता भएको छ । यो पालिकामा नेपपा (माओवादी केन्द्र)सँग चुनावी तालमेल गरेको कांग्रेसले उपप्रमुख माओवादीको भागमा पारेको छ । यस्तै मेलौली नगरपालिकाको प्रमुखमा प्रेमबहादुर चन्द र उपप्रमुखमा पार्वती विष्टको मनोनयन दर्ता भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिकाको प्रमुखमा दीपकबहादुर बम र उपप्रमुखमा मीना धानुकको उम्मेदवारी दर्ता भएको छ । 

यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहराको उम्मेदवारी दर्ता भएको कार्यालय सचिव विष्टले बताउनुभयो । जिल्लाको शिवनाथ गाउँपालिकामा कर्णसिंह साउँदको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष भने माओवादीको भागमा परेको छ । यसैगरी पञ्चेश्वरको गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारीको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ । 

यस्तै दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीको मनोनयन दर्ता भएको छ भने उपाध्यक्ष माओवादीको भागमा परेको छ । यस्तै डिलाशैनी गाउँपालिकाको उपाध्यक्षमा भगीरथ बोहराको उम्मेदवारी दर्ता भएको छ भने अध्यक्ष माओवादीको भागमा परेको छ । जिल्लाको सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐरको उम्मेदवारी दर्ता भएको छ । यो पालिकामा धामीले गएको स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेका थिए । उपाध्यक्षमा पनि कांग्रेसले नै जितेको थियो । 

 नेकपा (एमाले)ले पनि सबै पालिकामा उम्मेदवारी दर्ता गराएको जनाएको छ । उपसचिव लोकेन्द्र भण्डारीका अनुसार डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका लागि अक्कल राना र उपाध्यक्ष पदका लागि लीला जोशीको उम्मेदवारी दर्ता भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको प्रमुखमा पुस्करराज जोशी (लख्खाभाइ) र उपप्रमुख सरस्वती नेपालीको उम्मेदवारी दर्ता भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले मनोनयन दर्ता गरेका हुन् । 

यस्तै जिल्लाको पाटन नगरपालिकाको प्रमुखमा नारायण भण्डारी र उपप्रमुखमा भट्टको उम्मेदवारी दर्ता भएको छ । मेलौली नगरपालिकाको प्रमुखमा जगदीश नायक र उपप्रमुखमा चन्द्रकला साउँदको उम्मेदवारी दर्ता भएको छ । यस्तै पुरचौँडी नगरपालिकाको प्रमुखमा कर्णबहादुर कुँवर र उपप्रमुखमा जानकी साउदले उम्मेदवारी दर्ता गराएका छन् । 

सिगास गाउँपालिकाको अध्यक्षमा जस्वीर बोहरा र उपाध्यक्षमा धाना धामीले उम्मेदवारी दर्ता गराएका छन् । शिवनाथ गाउपालिकाको अध्यक्षमा हजारी साउद र उपाध्यक्षमा शकुन्तला साउदले एमालेबाट उम्मेदवारी दर्ता गराएका हुन् । सुर्नया गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका लागि अमरबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । सुर्नयामा एमालेले राप्रपासँग तालमेल गरेको छ । उसलाई उपाध्यक्ष पद दिइएको छ । 

 दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पदमा चक्र कार्की र उपाध्यक्षमा पार्वती कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । दुवैले गत चुनावमा पनि दोगडाकेदारबाट जितेका थिए । पञ्चेश्वर गाउँपालिकामा गोरखबहादुर चन्द र विना भट्टले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले पनि गएको स्थानीय तहको चुनावमा जित हासिल गरेका थिए ।

 माओवादी केन्द्रले पनि जिल्लाको पुर्चौँडी र मेलौलीमा माओवादी एक्लै चुनावी मैदानमा उत्रेको छ । पुर्चौँडीको प्रमुखमा विक्रम कुँवर (प्रतीक) र उपप्रमुखमा नन्दा शाहको उम्मेदवारी दर्ता भएको छ । यस्तै मेलौलीको प्रमुखमा भीमबहादुर चन्द (भूकम्प) र उपप्रमुखमा मनिषा दयालको उम्मेदवारी दर्ता भएको छ । 

 माओवादी केन्द्रका जिल्ला संयोजक शङ्कर भण्डारीका अनुसार जिल्लाको दशरथचन्द नगरपालिकामा एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको माओवादीले प्रमुखमा प्रेमसिंह थापाको मनोनयन दर्ता गराएको छ । यस्तै पाटनमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले उपप्रमुखमा कमलसिंह बोहराको मनोनयन दर्ता गराएको छ । यस्तै शिवनाथको उपाध्यक्षमा नरेन्द्र साउँद, दोगडाकेदारको उपाध्यक्षमा नवराज भट्ट (कुसुम) र सुर्नयाको उपाध्यक्षमा दिलाराम भट्ट उम्मेदवारी दर्ता गराएको छ । 

 यस्तै डिलाशैनीको अध्यक्षमा लोकेन्द्र राना (शीतल)को उम्मेदवारी दर्ता भएको छ । जिल्लाको सिगास गाउँपालिकाको अध्यक्ष राजेन्द्र साउँद र उपाध्यक्षमा लक्ष्मी चन्दको उम्मेदवारी दर्ता भएको छ । चन्द एमालेबाट असन्तुष्ट बनेर माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ । 

सोमबार १२ बैशाख २०७९ ०९:५९ PM मा प्रकाशित

प्रतिक्रिया